कृषि र कृषक पोष्ट

माडी–६ स्याउलीवासको ‘हिमालचुली नेचर फार्मस्टे’ सञ्चालनमा, पर्यटकको उत्साहजनक प्रतिक्रिया

११ पाैष, माडी । माडी-६, स्याउलीवासमा स्थापित ‘हिमालचुली नेचर फार्मस्टे’मा पुगेका पाहुनाहरुले अत्यन्त उत्साहजनक प्रतिक्रिया दिएका छन् । गत मंसिर २९ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आएको सो फार्मस्टेमा पुग्ने जो कोहि पाहुना (ग्राहक)ले पनि त्यहाँको कृषिमय बनावट, सजावट र सेवाप्रति सकारात्मक प्रतिक्रिया दिनेगरेका हुन् ।

फार्मस्टेमा पुग्नुभएका क्याट युकेका पूर्व अध्यक्ष एवं सामाजिक अगुवा कृष्ण गुरुङले ‘हिमालचुली फार्मस्टेको बिल्कुलै भिन्न प्रकृतिको साजसज्जा र सेवाबाट माडीको पर्यटन विकासमा मौलिक एवं विशिष्ट योगदान पुग्ने’ प्रतिक्रिया दिनुभयो ।

त्यस्तै फार्मस्टेमा पुग्नुभएका गुरूङ तमु लामा बौद्ध धर्म समाज केन्द्रका केन्द्रीय उपाध्यक्ष एवं यातायात व्यवसायी हितमान गुरुङले ‘माडीमा यस्तो भिन्न र भव्य फार्मस्टे स्थापना भएको देख्दा आफू उत्साही र अचम्मित भएको’ प्रतिक्रिया दिँदै ‘यसको सफलता माडीको पर्यटकीय भविष्यसंगै गाँसिएको’ बताउनुभयो ।

माडी क्षेत्रको कृषि, पर्यटन र संस्कृतिको समृद्धिलाई लक्ष्य राख्दै कृषिविद् रश्मि पण्डित र वातावरणविद् ध्रुव अधिकारीको अगुवाइमा करिब १० करोड रुपैयाँको लगानीमा फार्मस्टे निर्माण भएको हो ।

सेवा सुरू भएलगत्तै ‘आन्तरिक तथा विदेशी पर्यटकको राम्रो उपस्थिति देखिएको र पाहुनाबाट प्राप्त फिडब्याक अत्यन्तै सकारात्मक रहेको’ फार्मस्टेकी अध्यक्ष पण्डितले बताउनुभयो । “हिमालचुली नेचर फार्मस्टे केवल घुमफिर र आरामको थलो मात्र होइन, अनुसन्धान र ज्ञान आदान–प्रदानको केन्द्रका रूपमा विकास गर्ने हाम्रो लक्ष्य हो,” अध्यक्ष पण्डितको भनाई थियो ।

करिब डेढ बिगाहा क्षेत्रफलमा फैलिएको फार्मस्टेमा किचन गार्डेन, फलफूल बगैँचा, टनेल खेती, माछापालन, पशुपालन र हर्बल चिया उत्पादनजस्ता गतिविधि सञ्चालनमा छन् । चारवटा भवनमा एकैपटक करिब ४२ जना पाहुना बस्न सक्ने व्यवस्था गरिएको छ । माल्दिभ्सको फाइभ स्टार होटलमा काम गरी फर्किएका स्थानीय युवासहित दर्जनौंको संख्यामा स्थानीयबासीले रोजगारीको अवसर समेत पाएका छन् ।

तपाईको प्रतिक्रिया