११ पाैष, माडी । माडीको भैरवी दुग्ध उत्पादक सहकारी संस्थाले सेवा क्षेत्र बिस्तार गर्दै माडी-७, किर्तनपुरमा तेश्रो दुग्ध संकलन सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । पूर्वी माडीका दुग्ध उत्पादक कृषकहरुको सहजतालाई लक्षित गरी सहकारीले शुक्रबार कीर्तनपुरमा तेश्रो सेवा केन्द्र स्थापना गरी दुध संकलन र विक्रीवितरण सेवा सुरु गरेको हो ।
माडी-२, भैरवपुरमा स्थापित सो सहकारीले बरुवा क्षेत्रमा आफ्नै भवनबाट पहिलो सेवा केन्द्र र सितलपुरमा दोश्रो सेवा केन्द्र सञ्चालन गरिआएको छ । यसबाहेक माडी नगरपालिकासंग साझेदारी गर्दै गौरवको योजनाका रुपमा खोरेतमुक्त सेतो माडी अभियान समेत सञ्चालन गरिआएको सहकारीका अध्यक्ष खेमलाल पोख्रेलले जनाउनुभयो ।




