चितवन खबर पोष्ट

टिकौली क्षेत्रमा भएको मोटरसाइकल दुर्घटनामा माडीका २० वर्षीय तुशल महतोको मृत्यु

११ पाैष, माडी । चितवनको टिकौली क्षेत्रमा भएको मोटरसाइकल दुर्घटनामा माडी नगरपालिका–१, गर्दीका २० वर्षीय तुशल महतोको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब पौने तीन बजे भरतपुरबाट पूर्व टाँडीतर्फ जाँदै गरेको बा.प्र. ०२–०३४ प ५२०५ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–९ टिकौलीस्थित पूर्व–पश्चिम राजमार्गमा अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका तुशल महतोको उपचारका क्रममा निधन भएको चितवन प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणमा तुशल महतो नै चालक रहेको भनिए पनि प्रहरी निरीक्षक (प्र.नि.) सहितको टोलीले घटनास्थल पुगेर थप अनुसन्धान गर्दा मृतक तुशल महतो मोटरसाइकलको पछाडि सवार रहेको र १९ वर्षीय अंकित महतो चालक रहेको खुलेको प्रहरीले जनाएको छ।

दुर्घटनाका क्रममा तुशल महतोको दाहिने खुट्टा र छातीमा गम्भीर भित्री चोट लागेको थियो। मोटरसाइकल चालक रहेका माडी नगरपालिका–१, गर्दीकै १९ वर्षीय अंकित महतोको ढाडमा चोट लागेको छ।

दुर्घटनापछि गम्भीर अवस्थामा रहेका तुशल र सामान्य अवस्थामा रहेका अंकितलाई उपचारका लागि भरतपुरस्थित सेन्ट्रल अस्पताल लगिएको थियो। प्रहरीका अनुसार उपचारकै क्रममा तुशल महतोको बिहान करिब ३ः३० बजे मृत्यु भएको हो।

घाइते चालक अंकित महतोको हाल भरतपुरस्थित नयाँ मेडिकल कलेजमा प्रहरीको निगरानीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको चितवन प्रहरीले जनाएको छ। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया