१४ पाैष, माडी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच एकीकरण भएको छ। नेकपाको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा सम्पन्न वार्तापछि १० बुँदे सहमतिसहित दुवै पार्टी एकीकृत भएका हुन्।
एकीकरणपछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ नै रहनेछ भने चुनाव चिह्न ‘तारा’ रहने सहमति भएको छ। सहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन्।

नागरिक उन्मुक्ति पार्टी थरुहट क्षेत्रमा मुख्य प्रभाव रहेको राजनीतिक दल हो। स्थानीय तह निर्वाचन २०७९ मा दुई नगरपालिका र दुई गाउँपालिका गरी चार स्थानीय तहमा विजय हासिल गर्दै यो दल कैलाली जिल्लाको सबैभन्दा ठूलो दल बनेको थियो। नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभामा ४ सांसद रहेका थिए भने सुदूरपश्चिम प्रदेश सभामा २ जना सदस्य रहेका छन्।

यता, रञ्जिता श्रेष्ठका श्रीमान् रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी भने अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीसँग गठबन्धन गर्दै एउटै चुनाव चिह्नमा उम्मेदवारी दिने भएको छ। तीनवटै पार्टीले नाउपाको जाँतो चिह्नमा समानुपातिकतर्फको बन्द सूची बुझाउने सहमति गरेका छन्।

