१८ पाैष, माडी । माडी नगरपालिकाले लागत साझेदारीमा सूचना प्रविधिमा आधारित कृषि उपज संकलन केन्द्र स्थापनाका लागि माडी-४, सिधुवा चोकस्थित सार्वजनिक चौर क्षेत्रलाई चयन गरेको छ ।
माडी नगरपालिकाको ६२औं कार्यपालिका बैठकले करीब १.५ (डेढ) करोड रुपैंया लागतमा निर्माण हुने सो हाइटेक (सूचना प्रविधिमा आधारित) कृषि उपज संकलन केन्द्र निर्माणका लागि सिधुवा चौरलाई छनाैट गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालले बताउनुभयो ।

त्यसैगरी बैठकले संघीय समपुरक तथा विशेष अनुदानका कार्यक्रम अन्तरगत एकीकृत बस्ती विकास कार्यक्रमका लागि माडी-१, बनकट्टामा बोटे समुदायको एकीकृत बस्ती निर्माण गर्नेगरी सिफारिस गर्ने समेत निर्णय गरेको उहाँले जनाउनुभयो ।

कार्यपालिका बैठकले आगामी सत्रौं नगरसभा आउँदो पौष २५ गते बिहान ११ बजे नगर कार्यपालिकाको हलमा आयोजना गर्नेगरी मिति निर्धारण गरेको नगर कार्यपालिका प्रवक्ता डण्डपाणी पौडेलले जानकारी दिनुभयो । हिउँदे नगरसभाका रुपमा नगरको सत्रौं नगरसभाले केहि योजना तथा कार्यक्रमहरुमा शंसोधन र रकमान्तर गर्नुका साथै विभिन्न ऐन कार्यविधिहरु परित गर्नेछ ।


