चितवन खबर पोष्ट

हनुमानझुलामा बिजुलीका लागि बजेट माग गर्दै नेकपा सम्बद्ध वडाध्यक्षहरूद्वारा कार्यपालिका बैठक स्थगन

२४ पाैष, माडी । हनुमानझुलामा तत्काल बिजुली लैजान आवश्यक बजेट रकमान्तर वा व्यवस्थापनको माग गर्दै नेपाली कम्युनिस्ट पार्टीसम्बद्ध माडीका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले नगर कार्यपालिका बैठक स्थगन गराएका छन्।

बिहिबार (आज) बिहान बसेको माडी नगरपालिकाको ६३औँ कार्यपालिका बैठक रोकेर बाहिरिएका उनीहरुले स्वदेश एफ.एम.संग कुराकानी गर्दै माडी नगरपालिकाको (भोलि आयोजित) हिउँदे नगरसभाबाट हनुमानझुलामा बिजुली लैजान आवश्यक बजेट रकमान्तर वा व्यवस्थापन हुनुपर्ने माग उठाएको जनाएका हुन् ।

माडी–९ का वडाध्यक्ष घनश्याम दवाडीले बैठकमा आफूले बाँदरझुला (हनुमानझुला) क्षेत्रका समस्याबारे एजेन्डा थप गर्न आग्रह गरेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “यहाँ मुख्य समस्या पुर्जा र विद्युत्को हो। पुर्जाको विषय तत्काल सम्भव नहुन सक्छ, तर विद्युतीकरण गर्न पालिकाले चाहेमा सक्छ। नागरिकमा निराशा र वितृष्णा बढ्दै गएको अवस्थामा ‘बजेट छैन’ भन्ने बहानामा स्थानीय सरकारले पन्छिन मिल्दैन।”

वडाध्यक्ष दवाडीले नागरिकको मौलिक हक सुनिश्चित गर्न बजेट व्यवस्थापन गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै अब अरू निकायको मुख ताक्नेभन्दा पनि पालिकाले आफ्नै पहलमा बजेट बनाएर विद्युतीकरण अघि बढाउनुपर्ने धारणा राख्नुभयो।

यदि पालिकाले बजेटको बहानामा विषय गम्भीरताका साथ नलिएमा पार्टीसम्बद्ध जनप्रतिनिधिहरू एक ठाउँमा बसेर आ–आफ्नो वडामा गएको बजेटबाट समेत केही रकमान्तर गरी हनुमानझुला क्षेत्रका बासिन्दालाई राहत दिने विकल्पमा जाने उहाँको भनाइ छ।

“बजेट थप गर्न नसके पनि अहिले भइरहेका विभिन्न शीर्षकका बजेटलाई रकमान्तर गरेर मुख्य समस्या समाधान गर्न सकिन्छ,” दवाडीले भन्नुभयो। हनुमानझुला क्षेत्रका बासिन्दाले लामो समयदेखि विद्युतीकरणको माग गर्दै जनस्तरबाट दबाब समेत दिँदै आएका छन्।

तपाईको प्रतिक्रिया