चितवन खबर पोष्ट

‘आगामी दिनमा माडी क्षेत्रको विकासलाई मुख्य प्राथमिकता’: रेनु दाहाल (भिडियो सहित)

२६ पाैष, माडी । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट चितवन क्षेत्र नं. ३ का लागि एकल उम्मेदवार सिफारिस हुनुभएकी रेनु दाहालले ‘आगामी दिनमा माडी क्षेत्रको विकासलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने’ प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

भरतपुर महानगरपालिकाकी मेयरसमेत रहनुभएकी दाहालले निर्वाचन लक्षित कार्यकर्ता भेटघाट कार्यक्रमका क्रममा माडीको बसन्तपुरमा आयोजित अगुवा कार्यकर्तासँगको छलफलमा सो कुरा बताउनुभएको हो। उहाँले ‘माडी क्षेत्रमा अझै धेरै आधारभूत विकासका कामहरू गर्नुपर्ने अवस्था रहेको’ उल्लेख गर्दै ‘यस क्षेत्रलाई विशेष ध्यानमा राखेर योजनाहरू अघि बढाइने’ बताउनुभयो।

मेयर दाहालका अनुसार भरतपुर महानगरपालिकामा धेरै विकास योजनाहरू सम्पन्न भएपनि माडी क्षेत्रमा रिङ् रोड, खोलाहरूको तटबन्धन तथा पूर्वाधार विस्तार जस्ता कामहरू अझै आवश्यक छन्। ‘आगामी दिनमा माडी रिङ् रोड निर्माणलाई तीव्रता दिइने र बाढी तथा कटानको जोखिम न्यूनीकरणका लागि खोलाहरूको तटबन्धन गरिने’ उहाँले बताउनुभयो।

माडी क्षेत्रमा देखिँदै आएको जंगली जनावर र मानवबीचको द्वन्द्वलाई गम्भीर रूपमा लिँदै उहाँले यसको समाधानका लागि मेसजाली फाउन्डेसनमार्फत सञ्चालन भइरहेका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाइने बताउनुभयो। ‘मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका कार्यक्रमलाई तीव्रता दिई माडीवासीको सुरक्षा र जीवनस्तर सुधारमा विशेष ध्यान दिइने’ उहाँको भनाइ छ।

‘राजनीतिमा इमानदारिता अपरिहार्य भएको’ उल्लेख गर्दै मेयर दाहालले ‘जनप्रतिनिधिले जनताको भरोसालाई केन्द्रमा राखेर काम गर्नुपर्ने’ बताउनुभयो। ‘चुनाव जित्नका लागि मात्र नभई जनताको जीवनमा वास्तविक परिवर्तन ल्याउने उद्देश्यका साथ राजनीति गर्नुपर्ने’ उहाँको धारणा थियो।

यसैगरी, उहाँले पार्टीभित्र देखिने सानातिना मतभेदलाई बिर्सेर एकताबद्ध रूपमा माडीको विकासमा जुट्न सबैलाई आग्रह गर्नुभयो। साथै आगामी निर्वाचनका लागि माडी केन्द्रित, ठोस र व्यवहारिक योजनाहरू घोषणापत्रमा समावेश गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया