चितवन खबर पोष्ट

थारू समुदायको पहिचान, अधिकार र विकासमा थारू जनप्रतिनिधि र अगुवाहरूको प्रतिवद्धता

०१ माघ, माडी । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले ‘माडीमा क्रमिक विकास भइरहेकाले निराश हुनुपर्ने अवस्था नरहेको’ बताउनुभएको छ । थारू कल्याणकारिणी सभा माडीद्वारा आयोजित खिचरा उत्सव तथा थारु संवत्‌-२६४९ मा थारू भाषामा प्रमुख अतिथिको मन्तव्य राख्दै नगर प्रमुख महतोले ‘माडीमा थप काम गर्न हौसला र सल्लाह सुझाव साथको खाँचो रहेको’ बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा बोल्दै नगर उपप्रमुख महतोले ‘थारु मेयर उपमेयर भएर पनि थारुलाई राम्ररी हेरेनौ भन्ने गुनासो रहेको’ बताउनुभएको छ । ‘आफूहरु लागेपुगेसम्म थारु जातलाई जोगाउन र अगाडि बढाउन लागिपरेका’ उहाँको भनाई थियो । ‘आगामी बर्षको बजेटमा थारु उत्थानको नयाँ कार्यक्रम ल्याउने’ उहाँले बताउनुभयो ।

त्यसैगरी, थाकस चितवनका अध्यक्ष ललित चौधरीले ‘माडी नगरपालिकामा थारु समुदायले पार्टी नहेरेर थारु जात हेरेको’ बताउँदै ‘अब भरतपुर महानगरपालिकामा पनि कोहि मेयर बन्छ भने थारु नै बन्छ’ भन्ने अभिव्यक्ति दिनुभयो ।

कार्यक्रममा बोल्दै माडीका एकमात्र थारू वडाध्यक्ष पुरन महतोले ‘थारुको कला, संस्कृति र भेषभूषा सबैभन्दा ठूलो कुरा र थारुको पहिचान रहेको’ औंल्याउनुभयो । त्यस्तै, राप्रपा माडी नगर उपाध्यक्ष हरिकृष्ण चौधरीले ‘थारुको ब्रह्मस्थानको उचित संरक्षण नभएको’ गुनासो गर्नुभयो ।

त्यस्तै, थारू अधिकारकर्मी कृष्ण चौधरीले ‘अधिकार माग्ने सवालमा चितवनका थारु नामर्द, साडी लगाउने खालका भन्दै’ कटाक्ष गर्नुभयो । अर्का वक्ता थाकस चितवनका सल्लाहकार एवं नेकपाका थारु नेता प्रभुप्रसाद महतोले ‘माडीको थारु वर्चश्वलाई गर्दी र बघौंडा गाउँ पञ्चायत भन्दै टुक्राइएको’ टिप्पणी गर्नुभयो ।

तपाईको प्रतिक्रिया