०३ माघ, माडी । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्न रेनु दाहालले भरतपुर महानगरपालिकाको मेयरबाट बिदा लिने तयारी गर्नुभएको छ ।
महानगरपालिकाको नेतृत्व सम्हालेको झण्डै नौ वर्षको अवधिमा मेयर दाहालले आफूलाई ‘प्रचण्डकी छोरी’को परिचयबाट माथि उठाउँदै भरतपुरलाई विकास, सुशासन र समृद्धिको उदाहरणीय सहरका रूपमा स्थापित गर्न सफल हुनुभएको हो। जीर्ण विद्यालय, धुलाम्य र साँघुरा सडक, कमजोर स्वास्थ्य सेवा, सिँचाइ अभाव र नारायणी नदीको बाढीको त्रासमा बाँच्न बाध्य भरतपुरवासीको जीवनस्तर उकास्न उहाँले निरन्तर र अविरल प्रयास गर्नुभएको धेरैले मुल्याङ्कन गरेका छन् ।

दाहालको नेतृत्वमा भरतपुर महानगरपालिकाले एक हजार ७२ किलोमिटर सडक कालोपत्रे, ८८.६ किलोमिटर लामो चक्रपथ निर्माण, २०६ किलोमिटर सडक बत्ती जडान, मुख्य बजार र राजमार्ग क्षेत्रका २३ किलोमिटर सडकमा विद्युत् तार भूमिगत, स्मार्ट बत्ती तथा ४१८ वटा सिसिटिभी क्यामेरा जडान गरी भरतपुरलाई सुरक्षित र उज्यालो सहरको रूपमा विकास गरेको छ ।

कृषि क्षेत्रमा भूमिगत सिँचाइ, नारायणी लिफ्ट सिँचाइ, बोरिङ तथा ट्युबवेलमार्फत हजारौँ बिगाहा जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुगेको छ । दूध उत्पादक किसानलाई प्रतिलिटर अनुदान, कृषि उपकरण वितरण र विभिन्न सहयोग कार्यक्रममार्फत किसानको आम्दानी बढेको छ । युवालाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले सिपमूलक तालिम सञ्चालन भएको छ ।
यस्तै, शिक्षा र स्वास्थ्य क्षेत्रमा विद्यालय भवन निर्माण, सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना, ज्येष्ठ नागरिक र महिलाका लागि निःशुल्क सेवा, सुरक्षित प्रसूति र सामाजिक सुरक्षा कार्यक्रम लागू भएको छ । साथै, भरतपुर विमानस्थल विस्तार, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सिग्नेचर पुल, छ लेन सडक, बाइपास तथा सहर सौन्दर्यकरणका परियोजनाले भरतपुरको पहिचान फेरिएको छ ।
त्यस्तै, नारायणी नदीमा तटबन्ध निर्माण गरी बाढीको दीर्घकालीन समाधान गरिएको छ भने तटीय क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने आधार तयार भएको छ । सुशासन, आर्थिक पारदर्शिता र न्यून बेरुजु कायम गर्दै महानगरको आन्तरिक आम्दानी करिब रु एक अर्ब ४० करोड पुर्याउन सफल भएको भरतपुर आज विकसित, हरियाली र उज्यालो सहरका रूपमा राष्ट्रिय स्तरमै उदाहरण बन्न पुगेको छ ।


