१० माघ, माडी । माडीमा उच्च गतिको फाइबर इन्टरनेट सेवा प्रदान गर्दै आएको चित्रवन युनिक नेटले माडीको बघौंडा अस्पतालमा निःशुल्क वाइफाइ सेवा जडान गरेको छ।
अस्पतालमा भर्ना भएका बिरामी तथा उनीहरूका कुरुवाहरूलाई सञ्चार सम्पर्कमा सहजता होस् भन्ने उद्देश्यले फाइभजी राउटरसहित २०० कनेक्सन क्षमताको फ्रि वाइफाइ सेवा उपलब्ध गराइएको चित्रवन युनिक नेटका माडी प्रमुख किशोर श्रेष्ठले जानकारी दिनुभयो।

श्रेष्ठले फाइभजी राउटर अस्पताल व्यवस्थापन समितिका सदस्य समेत रहनुभएका वडाध्यक्ष दीपेन्द्रराज पौडेललाई हस्तान्तरण गर्नुभयो । यो सहयोगको समन्वय बसन्तपुरका व्यवसायी रामेश्वर चौधरीले गर्नुभएको थियो ।

अस्पतालमा फ्रि वाइफाइ जडान गर्न एक वर्षको ब्यान्डविथसहित करिब १ लाख २० हजार रुपैयाँ बराबरको लागत कम्पनीले सहयोग गरेको उहाँले बताउनुभयो । चित्रवन युनिक नेटले पछिल्लो करिब आधा दशकदेखि माडी क्षेत्रभर इन्टरनेट तथा आइ.पी. टेलिभिजन सेवा प्रदान गर्दै आएको छ।

