१० माघ, माडी । समृद्धिका लागि युवा अभियानका अगुवा तथा माडी नगरपालिका वडा नं. १ का पूर्व वडाध्यक्ष कृष्ण पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा खुल्नुभएको छ । शनिबार रास्वपामा खुल्दै उहाँले आफू करिब एक वर्षअघि नै पार्टीमा आवद्ध भइसकेको जानकारी दिनुभएको हो ।
माडी १ का पूर्व वडाध्यक्ष समेत रहनुभएका पौडेलले २०७८ चैत २८ गते नेपाली कांग्रेस परित्याग गरी स्वतन्त्र भएको घोषणा गर्नुभएको थियो । त्यसपछि २०७९ सालको स्थानीय तह निर्वाचनमा उहाँ स्वतन्त्र उम्मेदवारका रूपमा माडी नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवार बन्नुभएको थियो ।

पार्टी परित्यागको समयमा उहाँले पार्टीभित्र र बाहिर दुवैतर्फबाट पटक–पटक अपमान सहनु परेको, आफूलाई भूमिकाविहीन बनाउँदै ‘जिउँदै मार्ने प्रयास’ भएको आरोप लगाउनुभएको थियो ।

माडीका युवामाझ लोकप्रिय रहनुभएका पौडेलको निवासमा रास्वपाकी उम्मेदवार सोविता गौतमले घरभेट गर्नुभएको थियो । सो अवसरमा पौडेलले उम्मेदवार गौतमलाई निर्वाचन सफलताको शुभकामना व्यक्त समेत गर्नुभयो ।

