१२ माघ, माडी । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालले माडीको सुकुम्बासी बाहुल्य हनुमानझुला र प्याउली क्षेत्रबाट चुनाबी घरदैलोको सुरुवात गरेको छ । चितवन क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार शंकरराज थपलिया र समानुपातिक उम्मेदवार यमबहादुर परियार इन्द्रजितले सोमबार माडीको नगरपालिका-९ का हनुमानझुला र प्याउली क्षेत्रमा घरदैलो अभियान सञ्चालन गर्नुभएको हो ।
घरदैलोका क्रममा थपलियाले आफू किसान पृष्ठभूमिबाट आएको उल्लेख गर्दै किसानका समस्या र जीवनशैलीलाई नजिकबाट बुझ्ने भएकाले भूमिहीन एवं सुकुम्बासी नागरिकहरूको समस्या समाधानका लागि ठोस योजना ल्याउने आश्वासन दिनुभयो ।

अर्का उम्मेदवार परियारले सो क्षेत्रहरुमा शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत् जस्ता आधारभूत समस्या समाधानमा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले हालसम्म चितवन क्षेत्र नं. ३ मा एमालेको प्रतिनिधित्व हुन नसकेको अवस्थामा यसपटक एमालेको नेतृत्वमा समग्र विकासको नयाँ अध्याय सुरु हुने विश्वास व्यक्त गर्नुभयो ।

यसैबिच, प्रतिनिधिसभा निर्वाचन अन्तर्गत घरदैलो अभियानमा सहभागी नेकपा एमालेका उम्मेदवारसमक्ष मतदाताहरूले बिजुलीबत्ती, सडक तथा नदी तटबन्धनको व्यवस्था गरिदिन माग गरेका छन्।
माडीको सुकुम्बासी बाहुल्य हनुमानझुला र प्याउली क्षेत्रमा गरिएको घरदैलोका क्रममा चितवन क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फका उम्मेदवार शंकरराज थपलिया र समानुपातिक उम्मेदवार यमबहादुर परियार इन्द्रजितसँग अधिकांश मतदाताले यस्ता माग राखेका हुन्। उनीहरूले दैनिक जीवनसँग जोडिएका आधारभूत पूर्वाधारको अभावका कारण कठिनाइ भोग्नुपरेको गुनासो गरेका थिए।
प्रतिनिधिसभा निर्वाचनलाई मूलतः कानुन निर्माण गर्ने जनप्रतिनिधि चयन गर्ने प्रक्रियाका रूपमा लिइए पनि आम नागरिकले भने आफ्ना बस्ती वरपर सडक, बिजुली, खानेपानी र खोला नियन्त्रण जस्ता भौतिक पूर्वाधारमा प्रत्यक्ष सुधारको अपेक्षा राख्ने गरेका छन्। मत माग्न पुग्ने उम्मेदवारहरुले पनि मतदातको माग पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्ने गरेका छन् ।

