चितवन खबर पोष्ट

अपाङ्ग बाल अस्पताल बनेपाद्वारा माडीमा सञ्चालित अपाङ्गता घुम्ती शिविरमा ४० जनाको परीक्षण

१३ माघ, माडी । अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा र माडी नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित शारीरिक अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनर्स्थापना घुम्ती शिविरमा ४० जना बालबालिकाहरुको परीक्षण भएको छ ।

२५ केटा र १५ केटी गरी ४० जनाको अपांगता परीक्षण भएकोमा १० जनालाई बनेपा लगेर शल्यक्रिया एवं उपचार गर्न छनौट भएको अस्पतालका बागमती प्रदेश फोकल पर्सन गणेश भण्डारीले बताउनुभयो । परीक्षितमध्ये ३ जनालाई ह्वीलचेयर, ७ जनालाई सहायता सामग्रीका लागि नाँपजाँच र ४० जनालाई निःशुल्क औषधी वितरण गरिएको उहाँले जनाउनुभयो ।

१८ वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी आयोजना गरिएको शिविरमा ओठ तथा तालु फाटेको, आगोले पोलेर अंगहरु एकआपसमा टाँसिएको, भाँचिएर हड्डी बाङ्गो भएको, जन्मजात खुट्टाको पैताला भित्र फर्किएको, औँलाहरू आपसमा टाँसिएको, हड्डी नजोडिएको वा कमजोर भएको, हड्डी पाकेर पिप आउने लगायतका समस्याको परीक्षण तथा पहिचान भएको अपांगता समाज माडीका अध्यक्ष यम बहादुर अधिकारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया