चितवन खबर पोष्ट

‘बत्ती, लालपूर्जा र बाटोघाटोको समस्या समाधान गर्छु’: एमाले उम्मेदवार थपलिया (भिडियो सहित)

१५ माघ, माडी । नेकपा (एमाले) बाट चितवन निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि-सभा उम्मेदवार शंकरराज थपलियाले नागरिकले भोग्दै आएका बत्ती, लालपूर्जा, बाटोघाटो लगायतका आधारभूत समस्या समाधान गर्नु आफ्नो प्रमुख उद्देश्य रहने बताउनुभएको छ।

विहीबार स्वदेश एफ.एम.को कार्यक्रम जम्काभेट मा बोल्दै एमाले भरतपुर महानगर कमिटीका अध्यक्षसमेत रहनुभएका थपलियाले हनुमानझुला, माडी तथा सम्पूर्ण पटीहानी क्षेत्रका दीर्घकालीन समस्याहरू समाधानका लागि आफू दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले चितवन क्षेत्र नं. ३ भित्र रहेका सडकहरूको निर्माण तथा स्तरोन्नति गर्ने, ठोरी नाका खोल्ने, ध्रुब र नारायणी नदीमा पुल निर्माण गरी भारतको पश्चिम चम्पारणलाई भैरहवासँग जोड्ने योजना अघि सार्नुभएको छ। यसले धार्मिक पर्यटनको विकास गर्नुका साथै पर्यटनमार्फत स्थानीय स्तरमै स्वरोजगारका अवसर सिर्जना हुने उहाँको भनाइ छ।

त्यसैगरी, कृषि र किसानका समस्यालाई प्राथमिकतामा राख्दै उत्पादन, बजार र नीतिगत अवरोध हटाउन पहल गर्ने तथा विकासमा बाधक बनेका ऐन–कानुनका जटिलता फुकाउने दिशामा काम गर्ने उहाँले बताउनुभयो।

त्यस्तै, थपलियाले संसद कानुन बनाउने थलो मात्र नभई प्रधानमन्त्री र मन्त्रिपरिषद् बनाउने र विकास निर्माण गर्ने निकाय भएको बताउनुभएको छ । उहाँले, सांसदको जिम्मेवारी बहुआयामिक हुने उल्लेख गर्दै विधि र कानुन निर्माणसँगै विकास निर्माणका मुद्दामा पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभएको हो ।

थपलियाले पार्टीको घोषणापत्र, जनतासामु प्रस्तुत गरिएका प्रतिबद्धता पत्र तथा मौखिक रूपमा गरिएका वाचाहरू कार्यान्वयन गर्नु पनि सांसदको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्नुभयो । “माननीय भएपछि जनताका विकास निर्माणका मुद्दा, उनीहरूका सपना र अपेक्षालाई व्यवहारमा उतार्नुपर्ने हुन्छ,” उहाँको भनाई थियो ।

पछिल्लो समय चितवन क्षेत्र नं. ३ मा संसदको भूमिका विकास निर्माण की कानुन निर्माण भन्ने बहस चलिरहँदा बहुसंख्यक उम्मेदवारहरुले संसदलाई नीति र कानुन निर्माण गर्ने थलोसंगै विकास निर्माण डेलिभरी गर्नुपर्ने जिम्मेवारी रहने विचार व्यक्त गर्दै सोही अनुसार मत माग्दै घरदैलो गरिरहेको देखिएको छ ।

यसबाहेक, उहाँले रास्वपाका उम्मेदवारहरुलाई लक्षित गरी सामाजिक सञ्जालको ‘भाइरल’ लहर क्षणिक हुने बताउनुभयो । थपलियाले ‘फेसबुकका लाइक, सेयर र पैसा तिरेर गरिने विज्ञापन (बुस्ट) का भरमा देखिने लोकप्रियताको कुनै अर्थ नहुने’ बताउनुभएको हो । “फेसबुकमा लाइक र सेयर बढाएर, फेक आईडीबाट समाचार सम्प्रेषण गरेर कोही पनि स्थापित हुन सक्दैन,“ उहाँले भन्नुभयो, “यस्ता भाइरल पात्र र प्रवृत्तिहरू ६ महिना वा एक वर्षमा हराएर जान्छन् ।“

“भाइरल गीतहरू केही समय बच्छन् र फेरि अर्कै आउँछन् । तर हामी नारायण गोपाल र गोपाल योञ्जनका गीतहरू जस्तै सदाबहार हौँ, जसलाई मानिसहरूले जहिल्यै खोजेर सुन्छन् । एमाले भनेको त्यही सदाबहार शक्ति हो ।“ उहाँको भनाई थियो । पार्टी र आफू सधैं जनताको बीचमा रहेकाले निर्वाचनमा परिणाम आफ्नो पक्षमा आउने उहाँले जिकिर गर्नुभयो ।

तपाईको प्रतिक्रिया