चितवन खबर पोष्ट

राप्रपा माडीद्वारा तुल्सिङ गुरुङको संयोजकत्वमा ३१३ सदस्यीय चुनाव परिचालन समिति गठन

१८ माघ, माडी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) माडी नगर समितिले प्रतिनिधिसभा निर्वाचनको प्रचार–प्रसारका लागि तुल्सिङ गुरुङको संयोजकत्वमा ३१३ सदस्यीय चुनाव परिचालन तथा प्रचार–प्रसार समिति गठन गरेको छ।

शनिबार बसन्तपुर बजारस्थित पार्टी कार्यालय परिसरमा बसेको अगुवा नेता तथा कार्यकर्ताहरूको बैठकले उक्त समिति गठन गरेको हो। साथै, देवबहादुर (गुमान) दराईको संयोजकत्वमा २०३ सदस्यीय युवा परिचालन समिति समेत गठन गरिएको छ।

राप्रपा माडी नगर अध्यक्ष वीरेन्द्रबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न समिति गठन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य दिलिप पाण्डेको विशेष उपस्थिति रहेको थियो। सोही कार्यक्रमबाट माडी नगरपालिकाका सबै वडामा वडास्तरीय चुनाव परिचालन समिति पनि गठन गरिएको जनाइएको छ।

चितवन निर्वाचन क्षेत्र नम्बर–३ बाट राप्रपाले भरतपुर महानगर समिति अध्यक्ष दीपक थापामगरलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा अघि सारेको छ। यसअघि उक्त क्षेत्रबाट पार्टी उपाध्यक्ष विक्रम पाण्डे उम्मेदवार हुने गरेकामा यसपटक जेन–जी युवाको भावना अनुरूप नयाँ र युवा उम्मेदवारलाई अघि सारिएको पार्टीले जनाएको छ।

तपाईको प्रतिक्रिया