चितवन खबर पोष्ट

माडीलाई पनि भरतपुर महानगरपालिकाजस्तै विकास गर्नेछु : रेनु दाहाल (भिडियो सहित)

१८ माघ, माडी । चितवन निर्वाचन क्षेत्र नं. ३ की प्रतिनिधि–सभा उम्मेदवार रेनु दाहालले माडी–२, सितलपुरमा घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै माडीलाई पनि भरतपुर महानगरपालिकाजस्तै विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले आफू बोल्नेभन्दा पनि काम गरेर चिनिने जनप्रतिनिधि भएको उल्लेख गर्दै माडीमा कालोपत्रे सडक, झिलिमिली बत्ती, जंगली जनावरको रोकथाम, खोला तटबन्धन तथा खानेपानी समस्याको समाधानको माग रहेको बताउनुभयो । यसका लागि भरतपुरमा भएको विकासको मोडेल माडीमा पनि लागू गरिने उहाँको भनाई थियो ।

दाहालले प्रचण्ड नेतृत्वको सरकारको पालामा रणनीतिक महत्वका सडक, ९ वटा पुल, दिवाकर बहुप्राविधिक शिक्षालय, राष्ट्रियस्तरको कभर्ड हल निर्माण हुनुका साथै सोमेश्वर गढीलाई १०० पर्यटकीय गन्तव्यमा समेट्ने काम भएको स्मरण गराउनुभयो । त्यसपछि विकासको गति खासै अगाडि नबढेको उल्लेख गर्दै अब आफूले पुनः विकासको क्रम अगाडि बढाउने बताउनुभयो ।

माडीका भूमि सम्बन्धी समस्या समाधानका लागि निर्णय भइसके पनि सरकार ढलेकाले काम रोकिएको उहाँको भनाइ छ । भरतपुरमा धेरै भूमिहीनलाई पूर्जा वितरण गरिएको उदाहरण दिँदै अब सुकुम्बासी समस्या समाधानका लागि ऐनकानुनलाई जनपक्षीय ढंगले संशोधन गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हिजो, आज र भोलि पनि बिपन्न, भूमिहीन र भुईमान्छेको पक्षमा आफू निरन्तर लाग्ने भन्दै माडी–२, डाँडागाउँमा शुद्ध पिउने पानीको व्यवस्था र भूमिहीन समस्या समाधान गर्ने उहाँले आस्वाशन दिनुभयो । अहिलेको इमानदार र काम गरेर देखाउने जनप्रतिनिधि आवश्यक रहेकोमा उहाँको जोड थियो । (भिडियो)

तपाईको प्रतिक्रिया