१८ माघ, माडी । नेपाली भाषामा ए.आई. च्याटबट GuffGPT तयार गरी चर्चामा आएका माडीका किशोर दिक्षान्त पाण्डेको टेकगोर्खा नामको कम्पनीलाई करीब २ करोड नेपाली रुपैंयाको स्टार्टअप क्लाउड क्रेडिट प्राप्त भएको छ ।
माडी-१, बनकट्टा निवासी पाण्डेको कम्पनीले विश्वप्रख्यात प्रविधि कम्पनी माइक्रोसफ्टबाट १ लाख ५० हजार अमेरिकी डलर (करिब २ करोड नेपाली रुपैयाँ) बराबरको अजुर (Azure) क्लाउड क्रेडिट प्राप्त गर्न सफल भएको हो ।

यसअघि पनि सो कम्पनीले माइक्रोसफ्टबाट २५ हजार अमेरिकी डलर फण्ड प्राप्त गरेको थियो । माइक्रोसफ्टको यस कार्यक्रमअन्तर्गत विश्वभरका शीर्ष १ प्रतिशत स्टार्टअपहरू मात्र छनोट गर्ने भएकाले टेक गुर्खाको सफलता विशेष मानिएको छ । पाण्डेलाई कोडेभौर इन्टरनेशनलको नेपालस्थित एम्बास्डरको रूपमा पनि चयन गरिएको छ ।


