१८ माघ, माडी । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि चितवन जिल्लामा कुल २ हजार ९६४ जना कर्मचारी परिचालन गरिने भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा खटिने कर्मचारीको विवरण माग गरिसकिएको र नामावली आउने क्रम जारी रहेको छ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार ती कर्मचारी जिल्लाभर रहेका ४९४ मतदान केन्द्रमा खटिने छन्। एउटा मतदान केन्द्रमा छ जना कर्मचारी परिचालन गरिने व्यवस्था गरिएको छ।

चितवन जिल्लामा कुल १६२ मतदानस्थल र ४९४ मतदान केन्द्र रहेका छन्। कार्कीका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा यसपटक हुने निर्वाचनमा ३३ हजार ७४० नयाँ मतदाता थपिएका छन् भने ३४ मतदान केन्द्र थपिएका छन्।

जिल्लाको तीनवटै निर्वाचन क्षेत्रमा हाल ४ लाख ४२ हजार ८२ जना मतदाता रहेका छन्। तीमध्ये २ लाख १७ हजार ३१४ पुरुष, २ लाख २४ हजार ७६६ महिला तथा २ जना तेस्रो लिङ्गी मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

