१८ माघ, माडी । नेकपा (एमाले)बाट चितवन निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकरराज थपलियाले रास्वपाका सोविता गौतमलाई लक्षित गर्दै ‘तोरी र कोदो चिन्न गुगल चाहिने उम्मेदवार’ भन्दै व्यङ्ग्य गर्नुभएको छ ।
भरतपुर क्षेत्रमा घरदैलो गर्दै थपलियाले ‘बाहिरबाट आएका उम्मेदवारहरूले चितवनको माटो र यहाँको बालीनाली नबुझेको’ तथा ’रेडिमेड’ भाषण गर्ने र ’गोहीको आँसु’ झार्ने भन्दै व्यङ्ग्य गर्नुभएको हो ।

त्यस्तै, नेकपाका उम्मेदवार रेनु दाहालले ‘कार्यकाल पुरा नगरेको’ भन्दै उहाँले आलोचना गर्नुभयो । “मेयर भनेको स्थानीय सरकारको प्रमुख हो, तर चितवनमा जुन चुनाव आयो त्यहीँ हामफाल्ने प्रवृत्ति देखियो,“ थपलियाको कटाक्ष थियो ।

‘विकास र समृद्धिको एजेण्डा नै आफ्नो मुख्य प्राथमिकता रहेको’ उहाँको जिकिर थियो । ‘कृषि, पर्यटन र शिक्षाका मुद्दालाई जोडेर चितवनको विकास गर्ने आफ्नो एजेण्डा रहेको’ उहाँले बताउनुभयो । घरदैलोका क्रममा एमाले नेता कार्यकर्ताहरु पञ्चेबाजा बजाउँदै नाँचगान समेत गरी मत मागिरहेका देखिएका छन् ।

