चितवन खबर पोष्ट

माडी क्षेत्रमा रिउ कोरिडोर, तटबन्धन र भाैतिक विकास अबको प्राथमिकता: रेनु दाहाल (भिडियो)

१८ माघ, माडी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट चितवन क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार रेनु दाहालले ‘माडी क्षेत्रमा रिउ कोरिडोर तथा रिउ नदीमा तटबन्ध निर्माण, बाढी नियन्त्रण, र जंगल क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि घेराबार तथा मेसजाली फाउन्डेसनका काम’ पुरा गर्ने बताउनुभएको छ ।

माडी क्षेत्रमा करीब एक साता चुनाबी भेटघाट एवं घरदैलो गर्नुभएका भरतपुर महानगरपालिकाका निवर्तमान मेयर दाहालले ‘विकासको भरतपुर मोडेल’ अनुसार ‘माडी क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखी काम गर्ने’ बताउनुभएको हो ।

उहाँले माडी क्षेत्रका किसानका खेत बाँझै रहेको, सिँचाइ र मलको अभाव रहेको उल्लेख गर्दै भन्नुभयो, “यहाँ धेरै समस्या, दुःख र चुनौती छन् । त्यसैले अबको मेरो मुख्य ध्यान माडीमै केन्द्रित हुन्छ ।” आफू नयाँ अनुहार नभई काम गरेर देखाइसकेको व्यक्ति भएको बताउँदै उहाँले ‘जनतासँग गरेको बाचा पुरा गरिछाड्ने’ जिकिर गर्नुभयो ।

“भरतपुरमा बाटोघाटा, जंगली जनावर रोकथाम, मेसजाली फाउन्डेसन तथा नारायणी तटबन्धजस्ता ठूला योजना सम्पन्न भएका छन् ।” उहाँले भन्नुभयो । दाहालले आइतबार (आज)देखि भरतपुरस्थित निर्वाचन क्षेत्रका वडाहरुमा घरदैलो भेटघाट सुरु गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया