२१ माघ, माडी । प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनाअन्तर्गत आजदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित भएका छन् ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचनका लागि ७९ हजार ७२७ जना सैनिक परिचालन गर्ने तयारी गरिएको छ । निर्वाचन अवधिमा नेपाल प्रहरीका ७७ हजार जनशक्ति र एक लाख ३३ हजार निर्वाचन प्रहरी परिचालन हुनेछन् भने सशस्त्र प्रहरी बलतर्फ ४९ हजार ६८६ जना खटिने जनाइएको छ ।

नेपाली सेना बाहिरी सुरक्षा घेरामा रही सुरक्षा जिम्मेवारी सम्हाल्नेछ भने नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्नेछन् । दोस्रो तहको सुरक्षा घेरामा सशस्त्र प्रहरी बल रहनेछ ।

निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेको र देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।
मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ । दुई हजार ८४५ मतदानस्थल सामान्य, चार हजार ४४२ संवेदनशील र तीन हजार ६८० अतिसंवेदनशील सूचीमा रहेका छन् ।

