२१ माघ, माडी । किसानको साथीका रूपमा परिचित वन्यजन्तु सालकको संरक्षणमा हालसम्मका उपलब्धि, चुनौती र आगामी कार्यदिशामाथि विमर्श गर्न माडीमा प्रथम बागमती सालक सम्मेलन आयोजना गरिएको छ ।
डिभिजन वन कार्यालय चितवनको अगुवाइमा आउँदो माघ २६ गते माडीको बघौंडास्थित माडी भिलेज रिसोर्टमा आयोजना हुने सम्मेलनमा सालक अनुसन्धानकर्मी, संरक्षण अभियन्ता, वन अधिकृत, स्थानीय सरकारका प्रतिनिधि, साझेदार संस्था तथा सरोकारवालाहरूको सहभागिता रहनेछ ।

सम्मेलनले सालक संरक्षणका विषयमा साझा धारणा निर्माण गर्दै प्रतिबद्धता जाहेर गर्ने, पोष्टर प्रदर्शन तथा श्वेतपत्र जारी गर्ने र प्याङ्गोलिन प्यानल डिस्कसन सञ्चालन हुने डिभिजन वन कार्यालयका प्रमुख तथा सालक सम्मेलनका संयोजक बिष्णुप्रसाद आचार्यले जनाउनुभयो ।

नेपालमा सालक संरक्षित वन्यजन्तुमा पर्छ, र यसको सिकार वा तस्करी गर्नु गैरकानुनी हो । बागमती प्रदेशका १३ वटै जिल्लामा सालक पाइने भएकाले प्रदेश सरकारले सालकलाई ‘प्रदेश गौरव प्राणी’ घोषणा गर्नुपर्ने माग संरक्षण अभियन्ताहरूले गर्दै आएका छन् ।
सालकको शरीर कडा खप्टाले ढाकिएको हुन्छ । जसले यसलाई सुरक्षा दिन्छ । सालकको दाँत हुँदैन । यसले कमिला र किरा खाने गर्दछ । रातिमा सक्रिय हुने यो जनावर वन, झाडी तथा भूमिगत रुपमा बस्ने गर्दछ । अत्यधिक तस्करी र अवैध व्यापारका कारण यसको संख्या तीव्र रूपमा घटिरहेको छ ।

