२१ माघ, माडी । प्रतिनिधिसभाका लागि नेपाली कम्युनिष्ट पार्टीबाट चितवन-३ का उम्मेदवार रेनु दाहालले ‘आफू भुइँमान्छे भएको बताउँदै संधै भुइँमान्छेकै साथमा रहने’ बताउनुभएको छ ।
माडी नगरपालिका वडा नं. ५ मा रहेको दराई समुदायसंग चुनाबी भेटघाट गर्दै दाहालले सो कुरा बताउनुभएको हो । ‘जनताको घरदैलोमा भोट माग्न आउँदा गर्दैन भनी कसैले नभन्ने’ भन्दै उहाँले ‘विगतको कार्यकालमा आफूले गरेको कामका आधारमा जनताको विश्वास जितेको’ बताउनुभयो ।

काठमाडौंका मेयर बालेन शाहप्रति ईङ्गित गर्दै दाहालले ‘एक कार्यकालमै छाडेकालाई प्रधानमन्त्रीको उम्मेदवार स्वीकारिएपनि दुई कार्यकाल भइसकेको र पुनः दोहोरिन नमिल्ने अवस्थामा आफू प्रतिनिधिसभाको उम्मेदवार हुँदा विभिन्न टिकाटिप्पणी गरिएको’प्रति दुखेसो गर्नुभयो ।

माडीमा अल्पसंख्यक अवस्थामा रहेका दराई समुदायको उत्थानका लागि सो बस्तीमा शुद्ध खानेपानी र सिंचाईको व्यवस्था गर्ने, सतही सिंचाई नपुग्ने उँचो स्थानमा डिपबोरिङको व्यवस्था गर्ने, दराई होमस्टेको संस्थागत र भौतिक विकासलाई सघाउने उहाँको प्रतिवद्धता थियो ।
भरतपुर महानगरपालिकाका निवर्तमान मेयर समेत रहनुभएका दाहालले भरतपुरसंगै माडी क्षेत्रमा समेत समानान्तर रुपमा घरदैलो अभियान चलाइरहेको देखिन्न्छ । मंगलबार उहाँँले माडी नगरपालिकाको वडा नं. ४ क्षेत्रमा घरदैलो भेटघाट गर्नुभएको थियो ।

