चितवन खबर पोष्ट

चितवन राष्ट्रिय निकुञ्जभित्र धुलो नियन्त्रण गर्ने उद्देश्यले ‘मोज्याक’ टायल बिछ्याउने काम सुरु

२३ माघ, माडी । चितवन राष्ट्रिय निकुञ्जभित्र बनकट्टा पोष्ट नजिकको सडक खण्डमा धुलो नियन्त्रण गर्ने उद्देश्यले ‘मोज्याक’ टायल बिछ्याउने काम सुरु भएको छ । अस्थायी समाधानका रूपमा माडी नगरपालिकाले पहिलो चरणमा वनकट्टा चेकपोष्टदेखि ध्रुव पोष्टसम्मको सडकखण्डको करीब ४० मिटर क्षेत्रमा मोज्याक टायल बिछ्याउन थालेको हो ।

माडीका जेनजी युवाहरु सम्मिलित उपभोक्ता समितिमार्फत पहिलो चरणमा १० लाख रुपैयाँ बजेटमा यो काम सुरु भएको उपभोक्ता समितिका अध्यक्ष भरत ढकालले बताउनुभयो । हाल सडक छेउको कर्बस्टोन राख्ने काम भइरहेको र एक साताभित्रै आधारभूत काम पुरा हुने उहाँले जनाउनुभयो ।

पहिलो चरणको परीक्षण सफल भएमा थप सडक खण्डमा मोज्याक टायल बिछ्याइने माडी नगरप्रमुख ताराकुमारी काजी महतोले जनाउनुभयो । ग्राभेल सडकका कारण आवतजावतमा समस्या भएको भन्दै माडीबासीले लामो समयदेखि कालेपत्रको माग गर्दै आएका छन् ।

गत भदौमा भएको ‘जेनजी आन्दोलन’ का क्रममा माडीका युवाहरूले निकुञ्जभित्रको सडक विस्तारमा सक्रियता देखाएका थिए । आन्दोलनकै दबाबमा नगरपालिकाले एकैदिन कार्यपालिका बैठक र नगरसभा गरेर सडक धुलोरहित बनाउने उद्देश्यसहित ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार