भिडियो-पडकास्ट पोष्ट

रतपुर-७ प्रेमबस्तीमा स्कार्पियोले अटोलाई ठक्कर दिँदा माडीका एकजनाको मृत्यु, चार जना घाइते

२९ माघ, माडी । चितवनको भरतपुर महानगरपालिका-७ प्रेमबस्ती स्कुलचोकमा स्कार्पियोले अटोलाई ठक्कर दिँदा माडी दिवानगर निवासी एकजनाको मृत्यु भएको छ भने उहाँकै परिवारका चार जना घाइते भएका छन् ।

भरतपुरतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ह २३८८ नम्बरको अटोलाई बिहीबार (आज) बिहान करिब ४ बजे भित्री सडकबाट आउँदै गरेको बा.प्र. ०१-०२९ च १४१७ नम्बरको स्कार्पियोले ठक्कर दिएको चितवन प्रहरीले जनाएको हो ।

दुर्घटनामा अटोमा सवार माडी नगरपालिका-७ निवासी ४४ वर्षीय मिनबहादुर खत्री क्षेत्री गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर लगिएकोमा चिकित्सकले बिहान ५ः०५ बजे मृत घोषणा गरेका हुन् ।

तीर्थयात्राका लागि स्वर्गद्वारी जाने भन्दै एकाबिहानै खत्री र उहाँको परिवार निक्लिएको थियो । दुर्घटनामा ७२ वर्षीया हरिकला खत्रीको दाहिने खुट्टा भाँचिएको छ भने ४५ वर्षीया अम्बिका जिसीको दाहिने खुट्टा र टाउकोमा भित्री चोट लागेको छ । त्यस्तै, २२ वर्षीय अमित खत्री क्षेत्रीको हातखुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

अटो चालक भरतपुर महानगरपालिका-१२ निवासी ३३ वर्षीय सूर्य रिमालको निधारमा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ । घाइतेहरूको भरतपुरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार