८ फागुन, माडी । भूपराज पाठक स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा माडीमै नयाँ कीर्तिमान कायम भएको छ । प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कुल २३२ जनाले रक्तदान गरेका छन्, जुन माडी क्षेत्रमा हालसम्मकै सबैभन्दा धेरै सहभागी संख्या हो ।
रक्तदान गर्नेहरूमध्ये महिला ५२ जना, पुरुष १८० जना रहेका छन् भने नयाँ रक्तदाता ६९ जना सहभागी भएका थिए । प्रतिष्ठानले दिवंगत हास्य कलाकार, शिक्षक तथा पत्रकार भूपराज पाठकको प्रथम स्मृति दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

माडीका रेडक्रसकर्मी एवं सामाजिक अगुवा भागिरथ बस्यालले ९०औं पटकको रक्तदान गर्नुभएको छ । हरेक ३–३ महिनामा रक्तदान गर्दै आउनुभएका निवृत्त शिक्षक बस्यालले भूपराज पाठक स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा पहिलो रक्तदाता बन्दै ९०औं पटकको रक्तदान गर्नुभएको हो ।


नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखाका पूर्व सभापति समेत रहनुभएका बस्यालले रक्तदान सचेतना र रगतको आवश्यकता परेकालाई सहजिकरण समेत गर्दै आउनुभएको छ । उहाँले माडी क्षेत्रमै ब्लड बैंक स्थापनाका लागि विशेष पहल समेत लिइरहनुभएको छ ।
सोही अवसरमा उहाँको जीवन, योगदान र स्मृतिलाई समेटिएको ‘भूपराज स्मृति ग्रन्थ’को समेत विमोचन गरिएको थियो । त्यस्तै भूपराज असल शिक्षक पुरस्कारबाट जनकराज भुसाल र भूपराज प्रतिभा पुरस्कारबाट मुर्तीकार पार्वती सुनारलाई सम्मान समेत गरिएको थियो । प्रतिष्ठानले आगामी दिनमा पनि सामाजिक सेवामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्ने जनाएको छ ।

