६ फागुन, माडी । माडीमा नेकपा एमालेको चुनाबी कोणसभा चलिरहँदा रास्वपा कार्यकर्ताहरुले घण्टी बजाएपछि एमाले नेता यमबहादुर परियार ईन्द्रजितले ‘संयमित रहन र घण्टी नबजाउन’ सचेत गराउनुभएको छ ।
बसन्तपुर बजारमा एमाले कोणसभामा परियारले चुनाबी भाषण गरिरहँदा रास्वपा उम्मेदवार सोविता गौतमसहितको चुनाबी प्रचासप्रसार टोली आइपुगेको थियो । गौतमले हात हल्लाउँदै अभिभादन गरेपनि अन्य कार्यकर्ताहरुले घण्टी बजाएसंगै नेता परियारले मञ्चबाटै सचेत गराउनुभएको हो ।

“कोहि पनि उत्तेजना हुन जरुरी छैन । घण्टी नबजाउनुहोला । हामी यहाँ कार्यक्रम गर्दैछौं ।” परियारले भन्नुभयो । तर रास्वपा कार्यकर्ताहरु भने “घण्टी बज्यो” भन्दै अगाडि बढेका थिए । चोकमै निर्वाचन प्रहरी सहितका सुरक्षाकर्मीहरु खटिएका थिए । त्यसपछि कार्यक्रममा बोल्दै समानुपातिक उम्मेदवार समेत रहनुभएका उहाँले रास्वपालाई ‘खहरे खेला’संग तुलना गर्दै कडा कटाक्ष गर्नुभएको थियो ।

परियारले माथिल्लो सदनमा एकजना सांसदसमेत नभएको, प्रदेशसभा र स्थानीय तहमा पनि उस्तै अवस्था रहेका दलहरूले बहुमत आएपछि देश कायापलट गर्ने दाबी गर्नु अर्थहीन रहेको बताउनुभएको हो । “जादुको छडी जस्तो राजनीतिमा हुँदैन,” उहाँले भन्नुभयो, “राजनीति खहरे खोला जस्तो होइन, समुद्र जस्तो हो-आँधी तुफान आए पनि डगमगाउँदैन।” खहरे खोलाको उदाहरण दिँदै उहाँले क्षणिक उत्साह र आवेगमा आउने राजनीतिक शक्तिहरू दीर्घकालीन रूपमा टिक्न नसक्ने तर्क गर्नुभयो ।
परियारले काठमाडौँका मतदाताले नयाँ भनिएका दलप्रति असन्तुष्टि देखाएको दाबी गर्दै यसको परिणाम २१ गते स्पष्ट हुने उल्लेख गर्नुभयो । केही स्थानमा अझै भ्रम रहेको बताउँदै उहाँले क्रमशः जनताले यथार्थ बुझ्ने अभिव्यक्ति दिनुभयो ।
सोही कार्यक्रममा बोल्दै एमालेका प्रतिनिधिसभा उम्मेदवार शंकरराज थपलियाले आफ्नो उम्मेदवारी फिर्ता हुने भन्ने हल्ला निराधार भएको बताउनुभयो । एमाले भरतपुर महानगर अध्यक्ष समेत रहनुभएका थपलियाले ‘एमालेको जित सुनिश्चित भइसकेपछि विभिन्न भ्रमहरू छरिएको’ दाबी गर्दै कार्यकर्ता तथा मतदातालाई ढुक्क रहन आग्रह गर्नुभएको हो ।
“केही भ्रमहरू यहाँ छरिएका छन्। एमालेको उम्मेदवारी फिर्ता हुन सक्छ भन्ने खालका भ्रमहरू फैलाइएका छन्। हाम्रो उत्साह, सरगर्मी र संगठन बलियो देखिसकेपछि, एमालेले जित्ने सुनिश्चित भइसकेपछि यस्ता हल्लाहरू फैलाइएका हुन्। त्यो भ्रममा नपर्न म अनुरोध गर्दछु” उहाँको भनाइ थियो ।
थपलियाले नयाँ वा पुरानो नाममा मतदातालाई भ्रमित गर्ने प्रयास भइरहेको आरोप लगाउँदै एमालेप्रति विश्वास गर्न आग्रह गर्नुभयो । “कसैको नयाँ भनिने अथवा पुरानो भनेर आउनेहरूसित नझुक्किनुहोस्,” उहाँले भन्नुभयो । उहाँले कोही नयाँ अनुहार लिएर तथा कोहि भरतपुरको विकास गरिसकेको भन्दै माडी विकास गर्ने भन्दै आएको अभिव्यक्ति दिँदै उहाँले मतदातालाई सचेत रहन आग्रह गर्नुभएको हो।

