देश-प्रदेश खबर पोष्ट

धादिङमा भएको बस दुर्घटनामा परी कम्तीमा १७ जनाको मृत्यु, २४ जना घाइते

११ फागुन, माडी । धादिङमा गएराति भएको बस दुर्घटनामा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस गएराति करिब साढे १ बजे दुर्घटनामा परेको हो।

बस सडकबाट करिब ३ सय मिटर तल त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको समयमा बसमा कम्तीमा ४६ जना यात्रु रहेको अनुमान गरिएको छ। घटनास्थलमा नै १७ जनाको शव फेला परेको छ भने घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको थियो। साथै नेपाल प्रहरी र नेपाली सेनाको टोली पनि उद्धार कार्यमा संलग्न रहेको छ। घटनास्थलबाट डुंगाको सहायताले यात्रुहरूलाई बगरमा ल्याई त्यहाँबाट एम्बुलेन्समार्फत अस्पताल पठाउने काम भइरहेको छ।

घटनास्थलमा सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेसहितको टोली पुगेको छ। उनका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ र मृतक तथा घाइतेहरूको सनाखत प्रक्रिया जारी छ। रातिको समय र कठिन भौगोलिक अवस्थाका कारण उद्धार कार्यमा चुनौती थपिएको प्रहरीको भनाइ छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया