२० चैत, माडी । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन जिल्ला समन्वय समिति चितवन एवं माडी इकाई समितिले मालपोत कार्यालय भरतपुरमा पक्राउ परेका आफ्ना सदस्यहरूको रिहाइको माग गरेको छ ।
समितिले शुक्रबार जारी गरेको विज्ञप्तिमा ‘अदालतबाट प्रमाणपत्र प्राप्त गरी कानुनअनुसार काम गर्दै आएका लेखापढी व्यवसायीहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनले बिना कारण पक्राउ गरेको’ भन्दै रिहाइको माग गरेको हो ।
विज्ञप्तिमा अर्धन्यायीक क्षेत्रका रूपमा रहेको लेखापढी कार्यमा सेवा प्रवाह गरिरहेका व्यवसायीहरूलाई सादा पोशाकमा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर बिचौलियाको संज्ञा दिएको भन्दै आपत्ति जनाइएको छ ।

लेखापढी व्यवसायीहरू अदालतबाट प्रमाणित भई सरकारी निकायमा सेवा दिन पाउने व्यवस्था रहेको उल्लेख गर्दै विज्ञप्तिमा, पक्राउ परेकाहरूको रिहाइ नभए भू-सेवा केन्द्रहरू बन्द गर्ने चेतावनी समेत दिइएको छ । यसअघि मालपोत कार्यालय भरतपुरबाट प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको थियो ।



