१६ चैत, माडी । नियमित सिंचाईको सुबिधा बढेसंगै माडी नगरपालिकाका धेरै क्षेत्रहरुमा कृषकहरुले चैते धानको खेती गरेका छन् । भूमिगत सिंचाई, सिंचाई पाइपलाइन बिस्तार र कुलो लाइनिङ अनुदान लगायतका कार्यक्रमहरुबाट भरपर्दो सिंचाईको व्यवस्था भएसंगै कृषकहरु चैतेधान खेतीतर्फ आकर्षिक हुँदै गएका हुन् ।
बर्षेधान खेती हुने धेरै खेतहरुमा अहिले चैतेधानको खेती भएको देख्न सकिन्छ । नियमित सिंचाई सुविधा पुगिसकेका जमीनमध्ये धेरैजसो खेतबारीमा चैते धान लगाउन थालिएको माडी नगरपालिका कृषि शाखाको अनुमान छ ।
बिगतमा चैतेधान खेती नगर्ने कृषकहरु पनि क्रमशः यसतर्फ आकर्षित हुँदै गएका छन् । राम्रो उत्पादन, डुबान र बगानको समस्या नहुने, रोगकिराको प्रकोप कम हुने, मलखादको अभाव नरहने र समयमै धान भित्र्याउन पाउने भएकै कारण चैतेधानको खेतीतर्फ आकर्षण बढ्दै गएको किसानहरु बताउँछन् ।




