२२ चैत, माडी । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं कानुनमन्त्री सोविता गौतमले वर्तमान संसद पक्ष र विपक्षको दलीय घेराभन्दा माथि उठेर जनताका मुद्दामा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखमा डि.पि. अर्यालको उम्मेदवारीप्रति समर्थन जनाउँदै उहाँले संसदलाई परिणाममुखी र जनउत्तरदायी बनाउनुपर्नेमा जोड दिनुभएको हो ।
आफ्नो निर्वाचन क्षेत्र चितवन–३ का समस्याहरूलाई सदनमा मार्मिक ढंगले प्रस्तुत गर्दै गौतमले भन्नुभयो, “म माडीको हनुमान झुलादेखि भरतपुरको पारस बसपार्कसम्म र गोलाघाटदेखि शिवाघाटसम्मको स्वर लिएर उभिएको छु । प्रकृतिले सुन्दर उपहार दिएको यस क्षेत्रका मानिसहरू आज गहिरो पीडामा छन् ।“
उहाँले आफ्नो पसिनाले धर्ती उर्वर बनाउने किसानहरू मल, बीउ र सिँचाइ जस्ता आधारभूत आवश्यकताबाट वञ्चित हुनुपरेको सुनाउनुभयो । साथै, वर्षौँदेखि लालपुर्जाको नाममा राजनीति भइरहेको र त्यसको मारमा भूमिहीन नागरिक परेको उहाँको जिकिर थियो ।

निकुञ्ज वरपरका क्षेत्रमा हुने मानव–वन्यजन्तु द्वन्द्वका कारण जोखिमपूर्ण जीवनका बारेमा पनि उहाँले ध्यानाकर्षण गराउनुभयो । “मानिसहरूले हामीलाई केही चाहिएको होइन, केवल मानिस भएर बाँच्न देऊ भनेर याचना गरिरहेका छन्,“ उहाँको भनाई थियो ।
संसदमा यस पटक नयाँ ऊर्जासहित आएका युवा सांसदहरू र लामो संसदीय अनुभव बोकेका अग्रजहरूको उपस्थिति रहेकाले यो समिश्रणले संसदलाई अझ बढी परिपक्व र प्रभावकारी बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।



