जङ्गली हात्तीको हुल हरेक राती माडी क्षेत्रमा प्रवेश, जनजीवन अातंकित

355
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएका जङ्गली हात्तीको हुलले हरेक राती माडी क्षेत्रमा आतंक मच्चाउन थालेको छ । निकुञ्ज छेउका गौरीनगर, कृष्णनगर, खरकट्टा, बगहीँ, पौहारी, बनकट्टा लगायतका गाउँहरुमा हात्तीको झुण्ड हरेक राती बस्ती प्रवेश गरी जनधनको क्षती गरिरहेको हो । निकुञ्जभित्र घाँसेमैदानको राम्रो व्यवस्था नगरिँदा तथा निकुञ्जको क्षेत्रफलले धान्ने भन्दा धेरै संख्यामा जंगली जनावरहरु संरक्षित भएसंगै जंगली हात्तीहरु गाउँमा प्रवेश गरी बितण्डा मच्चाउन थालेका हुन् ।

माडी क्षेत्रमा विगत दुई सातादेखि जंगली हात्तीहरु प्रवेश गरी मुख्यतः धानबाली विनाश गरिरहेको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मथुरा बहादुर भण्डारीले जनाउनुभयो । हात्तीको झुण्ड रातको समयमा बस्ती पस्ने र दिनभर वन क्षेत्रमा बस्ने गरेको छ । हात्ती नियन्त्रणका लागि हवाई फायर गर्ने, ट्याक्टरको आवाज निकाल्ने र राँको बाल्ने, शङ्ख फुक्ने र होहल्ला गरेर हात्ती लखेट्ने काम भइरहेको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष भण्डारीको भनाई थियो ।

हात्ती लखेट्न स्थानीयबासीहरुलाई सुरक्षाकर्मी र बनरक्षक सैनिकहरुले सहयोग गरेको भएपनि हरेक राती जंगली जनाव लखेट्नमा बित्ने गरेपनि हैरानी बढेको एक स्थानीयबासीले जनाउनुभयो । पछिल्लो चार पाँच बर्षदेखि हरेक वर्ष धान पसाउने समयमा जङ्गली हात्ती बस्ती पस्ने गरेको छ । धानसँगै घरमा भण्डारण गरिएको खाद्यान्न खाइदिने, घर भत्काउने, मानिसलाई आक्रमण गर्ने गरेको छ । हात्ती नियन्त्रणका लागि सोलार फेन्स र अलार्म लगाइएको भएपनि त्यो प्रभावकारी हुन सकेको छैन ।

SwadeshPost