जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ११३ नाघ्यो, सयौं घाइते

538
SwadeshPost

चितवन । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ११३ नाघेको छ ।

शनिवार बिहान ६ः३० बजेसम्म संकलित सुचना अनुसार जाजरकोटमा ८६ र रुकुम पश्चिममा २७ जनाको मृत्यु भएको पुष्टी भइसकेको हो । घाइते हुनेहरूको संख्या सयाैंमा रहेको र हताहत हुनेहरुको संख्या सयौं पुग्नसक्ने स्थानीय अधिकारीहरूले बताएका छन् ।

भूकम्पमा परेर नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ । भुकम्पबाट भएको क्षतीको सुचना संकलन र उद्धारको क्रम जारी रहेको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले बताउनुभयो ।

सरकारले भूकम्प प्रभावितहरुको उद्धार र राहतका लागि स्वास्थ्यकर्मी सहित हेलिकप्टर पठाउने तयारी गरेको छ । त्यस्तै, भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री प्रचण्ड आफैं जाने भएका छन् ।

जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः४७ बजे ६. ४ म्याग्नेच्युडको भूकम्प गएको थियो । भुकम्पको धक्का चितवन र काठमाडौंसहित देशका अधिकांक्ष क्षेत्र र चीनको स्वशासित क्षेत्र तिब्बतदेखि भारतको नयाँदिल्लीसम्म महसुस भएको थियो ।

— — —
#स्वदेश न्युज डेस्क
२०८० कार्तिक १८ गते शनिबार बिहान ०६:३७ मा प्रकाशित
SwadeshPost