माडीका बरिष्ठ शिक्षासेवी, समाजसेवी र बामपन्थी नेता दिवाकर भुषालको अाज स्मृति दिवस

303
SwadeshPost

आज असोज २४ गते, माडीका बरिष्ठ शिक्षासेवी, समाजसेवी र बामपन्थी नेता दिवाकर भुषालको स्मृति दिवस रहेको भएपनि यस अवसरमा माडीमा कुनै औपचारिक कार्यक्रम भने भएको देखिएन । पिता चन्द्रकान्त भुसाल र माता जमुना भुसालको कान्छो छोराको रूपमा २००६ साल कार्तिक २० गते त्रिवेणी गा.वि.स. बेउलीबास, पर्वतमा जन्मनुभएका दिवाकर भुसालले बि.सं. २०२६ सालमा तात्कालीन बघौडा–७ का रामलखन महतोबाट नेकपाको सदस्यता लिनुभएको थियो । उहाँ, २०२६ सालमा माडी इलाका समितिको सेक्रेटरी, २०२९ सालमा जिल्ला समिति सदस्य र २०३० देखि २०३४ सालसम्म किसान संगठन चितवनको अध्यक्ष, २०३५ देखि २०३८ सम्म नेपाल मजदुर किसान संगठनका जिल्ला सदस्य, २०३८ साल पौष १२ र १३ मा भएको प्रथम जिल्ला अधिवेशनबाट सर्वहारावादी श्रमिक संगठनका प्रथम जिल्ला अध्यक्ष र २०४४ सालमा सोही पार्टीको केन्द्रीय सदस्य रहनुभयो । त्यसैगरी २०५४ मा संयुक्त जनमोर्चा नेपालको केन्द्रीय कोषाध्यक्ष हुनुभएका भुसाल संयुक्त जनमोर्चा र राष्ट्रिय जनमोर्चाबीच एकता भई निर्माण भएको जनमोर्चा, नेपालको पनि केन्द्रीय कोषाध्यक्ष रहनुभएको थियो ।

२०२८ देखि ३५ सालसम्म चितवनमा चलेका सुकुम्बासी, ब्याजविरोधी आन्दोलन, बाली काट्ने आन्दोलन, मोहीहरूको आन्दोलन, रक्सी विरोधी आन्दोलन, गैंडा गस्तीले गाउँलेमाथि गरेको अत्याचारको विरुद्धको आन्दोलन र ०३३ सालको भूमिकरको विरुद्धको आन्दोलनमा उहाँको नेतृत्व रहेको थियो । माडी क्षेत्रको शिक्षा, स्वास्थ्य, खेलकूद, बाटोघाटो पुलपुलेसा लगायतका विकास निर्माणको काममा उहाँको विशेष योगदान रहेको थियो । तर सामाजिक, शैक्षिक र खेलकूदको क्षेत्रमा प्रेरक व्यक्तित्व रहनुभएका स्वर्गिय भुसाललाई उहाँकै पार्टी र माडीको पछिल्लो पुस्ताले बिर्संदै गएको महसुस गरिएको छ ।