माडीमा पुनः जंगली हात्तीकाे अातंक, निकुञ्ज छेउका गाउँबासीहरू रातभर आतंकित

340
SwadeshPost

माडीमा चितवन राष्ट्रिय निकुञ्ज छेउका धोबाहा, पौहारी, बैराठ र सिमरा गाउँबासीलाई जंगली हात्तीले रातभर आतंकित बनाएको छ । राती निक्लिएको माउ, मत्ता र एक बच्चा हात्तीको बथानले पहिले गाउँछेउको केरा खाएको र त्यसलगत्तै रातभर बस्ती वरपर पुगी आतंकित बनाएको हो ।

किसानहरुले काटेका धान खेतमै रहेको अवस्थामा जंगली हात्तीको बथानले सो धान खाने भयका कारण गाउँलेहरु भने रातैभर हात्ती धपाउन व्यस्त रहेका थिए । हात्ती धपाउन ट्रेलर सहितको ट्याक्टरमार्फत गाउँलेहरुले होहल्ला गर्ने तथा पटाका पड्काउने गरेको धोबाहाबाट स्थानीयबासी जितेन्द्र मर्दनीयले स्वदेश एफ.एम.लाई जानकारी गराउनुभयो ।

यसअघि, सोही गाउँमा जंगली हात्तीको आक्रमणबाट गत कार्तिक २ गते हात्तीको आक्रमणमा परी १५ बर्षका किशोर रबि चौधरीको ज्यान गएको थियो । पछिल्ला दिनहरुमा चितवन राष्ट्रिय निकुञ्जबाट निस्किने जंगली हात्तीहरुले माडी र ठोरी क्षेत्रको मानव बस्तीमा प्रवेश गरी जनधनको क्षती गर्ने क्रम बढेको छ ।

SwadeshPost