बिराट धुनी संरक्षण समितिद्वारा माडीको राजबैराठमा अष्टजाम सम्पन्न

339
SwadeshPost

बिराट धुनी संरक्षण समितिको आयोजनामा माडीको राजबैराठमा बृहत् हरिनाम संकीर्तन अष्टजाम गरिएको छ ।

माडी नगरपालिका वडा नं. ३, राजबैराठस्थित ऐतिहासिक बिराट धुनी रहेको स्थानमा निरन्तर २४ घण्टासम्म अखण्ड रुपमा भजनकीर्तन र पूजाआजा गरी हरिनाम संकीर्तन सञ्चालित भएको हो । अष्टजाम कार्यक्रममा स्थानीय महिला समूह तथा माडीको थारु समुदायको उल्लेख्य सहभागिता रहेको बिराट धुनी संरक्षण समितिका अध्यक्ष रामनाथ महतोले जानकारी दिनुभयो ।

देशभरीका ५२ धुनीहरु मध्येको एक धुनी रहेको बिराट धुनी क्षेत्रको विकास, प्रवर्द्धन, प्रचारप्रसार र संरक्षणका लागि अष्टजाम गरिएको जनाइएको छ । केहि दशक अघिसम्म माडीको महत्वपूर्ण धार्मिक स्थलका रुपमा रहेको सो धुनीलाई पछिल्लो पुस्ताले बिर्सदै गएको सन्दर्भमा अष्टजाम गरिएको हो ।

यसैबिच बिगतमा बिराट धुनीको भोगचलनमा रहेको सार्वजनिक जमीनको खोजी गर्नुपर्ने आवाज उठेको छ । विगतमा एक बिगाहा भन्दा धेरै क्षेत्रफलमा फैलिएको सो धुनीको जमीन हाल एक कठ्ठामा सीमित भएसंगै त्यसको खोजी गरी धुनीको संरक्षण गर्नुपर्ने स्थानीयबासीहरुले आवाज उठाएका हुन् ।

SwadeshPost