आइडिया फर नेपालले माडीमा फलफूल खेती सहितको रिसोर्ट सञ्चालन गर्ने

361
SwadeshPost

गैरआवासीय नेपालीहरुको संस्था आइडिया फर नेपालले माडीको राधापुर तथा रमाइलोडाँडा क्षेत्रमा फलफूल खेती सहितको रिसोर्ट सञ्चालन गर्ने भएको छ ।

रिसोर्ट सञ्चालनका लागि सो संस्था र माडी नगरपालिकाबिच वडा नं. ५ स्थित मगोई नदी किनारको करीब ३५ बिगाहामा फैलिएको लामो चौर ४९ बर्षका लागि लिजमा लिने सम्झौता भएको छ । सम्झौता पत्रमा माडी नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र आइडिया फर नेपालका तर्फबाट अध्यक्ष गोकर्ण श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । हस्ताक्षर कार्यक्रममा माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो र वडा नं. ५ का वडाध्यक्ष रामबन्धु पोखरेल तथा आइडिया फर नेपालका नेपाल निर्देशक श्रीमणी दवाडी साक्षीस्वरुप उपस्थित रहनुभएको थियो ।

हस्ताक्षर भएलगत्तै माडी नगरपालिकामा सम्पन्न पत्रकार सम्मेलनमा माडीका नगरप्रमुख ढकालले सन् २०२० को नेपाल भ्रमण बर्षलाई सहयोग हुने तथा माडीको पर्यटन र आर्थिक विकासमा महत्वपूर्ण सघाउ पुग्ने भएकाले सो परियोजना माडी नगरवासीका लागि महत्वपूर्ण रहेको बताउनुभयो । हङकङमा मुख्यालय रहेको आइडिया फर नेपालले यसअघि मुक्तिनाथ केबुलकार निर्माणमा आधा हिस्सेदारी लगाउनुका साथै ठूला परियोजनाहरुमा लगानी गर्दै आएको छ ।

SwadeshPost