नेपाली सेना अन्तरगत श्री बटुक दल गण, कसरा ब्यारेकको आयोजनामा माडीको दक्षिण अयोध्यापुरीमा प्रकृति संरक्षण सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
दक्षिण अयोध्यापुरीस्थित आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय संरक्षणकर्मीहरुको सहभागिता रहेको सो कार्यक्रममा सेनाले संरक्षणमूलक सडक नाटक प्रदर्शन गरेको हो । त्यसैगरी, संरक्षणसम्बन्धी फोटो र भिडियो प्रदर्शनी, कुकुरमार्फत खागको अनुसन्धान र संरक्षण लागि ड्रोन सञ्चालन लगायतको समेत प्रदर्शनी गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र पाण्डेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल र अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मथुरा बहादुर भण्डारी र बटुक दल गणका प्रमुख अरुण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरुले संरक्षणमा समुदायको भूमिका उच्च रहेको बिचार व्यक्त गरेका थिए ।