एकसाता लामो अनसन स्थगन गर्नुभएका वडाध्यक्ष पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

249
SwadeshPost

एकसाता लामो आमरण अनसन स्थगन गर्नुभएका वडाध्यक्ष कृष्ण प्रसाद पौडेलको स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

वडाध्यक्ष पौडेलको हाल भरतपुर अस्पतालको क्याबिनमा उपचार भइरहेको छ । गत फाल्गुन ७ गते साँझ ८:३० बजेबाट आमरण अनसन सुरु गर्नुभएका वडाध्यक्ष पौडेललाई स्वास्थ्य अवस्था गम्भीर भएसंगै फाल्गुन १२ गते बिहान भरतपुर अस्पताल लगिएको थियो । अस्पतालको आई.सि.यु.मा आमरण अनसन जारी राख्नुभएका उहाँले चितवनका राजनैतिक दलहरु एवं नेकपा अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डको आग्रहमा गएसाँझ अनसन स्थगन गर्नुभएको हो ।

अनसन अन्त्य गर्दा शरीरमा भिटामिन, प्लेटलेट्स र सुगर लगायतको मात्रामा कमी रहेकोमा हाल त्यसको उपचार जारी रहेको अस्पतालले जनाएको छ । उहाँलाई अवस्था हेरी आगामी दुई दिनभित्र डिस्चार्ज गर्न सकिने जनाइएको छ । हाल उहाँ रहनुभएको क्याबिनमा पुगी स्वस्थ्यलाभको कामना गर्नेहरुको भीड बढेको छ ।

SwadeshPost