माडीको बघौंडा अस्पताल अक्सिजन सहितको आइसोलेशन उपचार केन्द्रको सुरुवात

388
SwadeshPost

०३ जेठ, चितवन । माडीको बघौंडा अस्पताल अन्तरगत स्थापित अक्सिजन सहितको आइसोलेशन उपचार केन्द्रको औपचारिक सुरुवात भएको छ ।माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आइसोलेशन सेन्टरका प्रमुख डा. आलोक कुमारलाई एन्टीजेन टेस्ट किट र अक्सिमिटर हस्तान्तरण गरी ८ बेड क्षमताको सो सेन्टरको सेवा सुरुवात गर्नुभएको हो ।

नगरपालिकाको पाँच लाख रुपैंया लागतमा साविकको कृषि सेवा केन्द्रको भवनलाई अपांगमैत्री समेत हुनेगरी मर्मत, रंगरोगन र नयाँ शौचालय निर्माण गरी आइसोलेसन सेन्टर निर्माण गरिएको हो । सेन्टरमा ‘अक्सिजन कन्सन्ट्रेटर मेसिन’ सहित ज्वरो र कोरोनाका सम्भाव्य बिरामीहरु जाँच्ने डेस्क समेत रहेको छ । सेवा सुरुवात कार्यक्रममा नगरप्रमुख ढकालसंगै माडी नगरपालिकाका प्रमु्ख प्रशासकीय अधिकृत अर्जुन गौतम, वडाध्यक्ष पुरन महतो, स्वास्थ्य शाखा प्रमुख शिव सुवेदी र स्वास्थ्यकर्मी एवं सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख ढकालले सकेसम्म कोरोना कसैलाई लाग्न नदिने, लागिहाले घरमै होम आइसोलेशनमा राखी उपचार गर्ने र केहि जटिलता देखिए आइसोलेश सेन्टरमा ल्याई उपचार गर्ने बताउनुभयो । कोरोना महामारी सकिएपश्चात सो भवनलाई बघौंडा अस्पताल मातहतकै रक्तसञ्चार केन्द्र बनाइने उहाँले जानकारी दिनुभयो ।

SwadeshPost