किन हारे वाम एकताका सुत्रधार बामदेव गौतम र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ?

631
SwadeshPost

देशभर वामपन्थी गठबन्धनले विजयको झण्डा गाडिरहँदा यसको सुत्रधार दुई नेताहरु एमाले उपाध्यक्ष बामदेव गौतम तथा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ भने पराजित भएका छन् ।

बाम गठबन्धनको सुरक्षित क्षेत्र मानिएको बर्दिया क्षेत्र नं. १ बाट उपाध्यक्ष गौतम कांग्रेस नेता संजयकुमार गौतमसँग ७५३ को मतान्तरले पराजित भए । देउवा सरकारका सिँचाई मन्त्रीसमेत रहेका संजय गौतमले ४४ हजार ८२९ मत ल्याएर विजयी हुँदा वामदेवले ४४ हजार ७६ मत ल्याए । स्थानीय निर्वाचनको आँकडा हेर्दा वाम गठबन्धनसँग नेपाली काँग्रेसभन्दा २० हजारबढी मत रहेको क्षेत्र भएपनि अप्रत्यासित र अनपेक्षित नतिजा व्यहोर्दै एमाले नेताको पराजय भएको हो । अति सुरक्षित ठानिएको सो क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चुनाव लड्ने चर्चा पनि चलेको थियो, तर प्रचण्डले चितवन ३ रोजेका थिए ।

उता, गोरखा क्षेत्र नं. २ मा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईसंग माओवादी केन्द्रका उपाध्यक्ष श्रेष्ठ ७ हजार १७४ मतान्तरले पराजित भए । डा. भट्टराईले २९,२७७ मत ल्याउँदै गर्दा श्रेष्ठले २३८७० मत ल्याएका छन् । तुलनात्मक रुपमा प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको भएपनि सो क्षेत्रमा नयाँ शक्ति पार्टी र नेपाली काँग्रेसको कुल मतभन्दा माओवादी केन्द्र र एमालेको मतको योगफल धेरै हुने स्थानीय तहको निर्वाचनले देखाएको थियो ।

उपाध्यक्षद्वय गौतम र श्रेष्ठ एमाले र माओवादी गठबन्धनका सूत्रधारका रुपमा चिनिएका छन् । दुबै नेताकै जोडबलमा पार्टी एकता गर्ने सहमतिका साथ वाम गठबन्धन भएको थियो । एमाले र माओवादीबिच तिक्ततापूर्ण सम्बन्ध रहँदासमेत निरन्तर भेटघाट र सम्पर्कमा रही तथा दुबैपार्टीका अध्यक्षलाई परस्पर छलफल र भेटघाट गराई उनीहरुले वाम एकताको वातावरण बनाएका हुन् ।

देशैभरी वामपन्थी गठबन्धनका उम्मेदवारले दुई तिहाईको संख्यामा चुनाव जितिरहेका बेला यी दुई बरिष्ठ नेताको पराजयलाई लिएर एमाले र माओवादी दुवै पाटीभित्र आन्तरिक समीक्षा सुरु भइसकेको छ । २०५६ सालको निर्वाचनमा एमालेले बहुमत ल्याउने माहौल बन्दैगर्दा महाकाली सन्धीमा पार्टीको समर्थनको बिरोध गर्दै पार्टी फोरेर कमजोर बनाएको बामदेव गौतममाथि सदावहार लागिरहने आरोप हो । यसको अलावा वामदेव गौतम एमालेभित्र बरियताका हिसाबले केपी ओली, झलनाथ खनाल र माधव नेपालपछि चौथो बरियतामा रहे पनि राजनीतिक हिसाबले ओलीपछिका नेता भएको र नवौं महाधिवेशनपछि प्रभाव बढाइरहेको सन्दर्भमा एमालेकै दोश्रो तहका नेताहरुको योजनामा उनको पराजय भएको हुनसक्ने एमाले वृत्तमा छलफल छ ।

यता, नारायणकाजी श्रेष्ठलाई भने जनयुद्धमा सहभागी नभएको वा युद्ध नलडेको भन्दै माओवादी बृत्तमै कतिपय नेताकार्यकर्ताहरुले विभेदपूर्ण अभिव्यक्ति दिने गरेका थिए । केन्द्रीय समितिदेखि जिल्ला तह हुँदै तल्लो इकाइसम्म पनि नारायणकाजी नेतृत्वको पार्टीबाट एकतामा आएकाहरुलाई विभेद हुनेगरेको सो पक्षका नेताकार्यकर्ताहरुले खुलेआम बताउने गरेका छन् । अन्तरघात लगायत दुबै नेताको पराजयको विभिन्न पाटोमा समीक्षा सुरु भएपनि दुबै नेताहरुले भने अहिलेसम्म मुख खोलिसकेका छैनन् ।

SwadeshPost