

माडी, चितवन । नेकपा एमालेका केन्द्रीय सदस्य एवं चितवन जिल्ला ईञ्चार्ज देवी ज्ञवालीले ‘माडीलाई मणि बनाउने जिम्मा एमालेले लिने’ बताउनुभएको छ । एमाले माडी नगर कमिटिको तेश्रो अधिवेशनको समुद्घाटन कार्यक्रममा विशिष्ट अतिथिका रुपमा संक्षिप्त मन्तव्य राख्दै एमालेका चर्चित एवं प्रभावशाली नेता ज्ञवालीले सो कुरा बताउनुभएको हो ।

आफू ‘२०३५ सालमा पहिलोपटक माडीमा पाइला टेकेको’ जानकारी दिँदै नेता ज्ञवालीले ‘यहाँको समस्या हल गर्ने तथा देश र जनताको समस्याको निकाश दिने काम एमाले पार्टीले गर्ने’ बताउनुभयो । ‘नगर अधिवेशनबाट सर्वसम्मत सक्षम नेतृत्व चयन हुने’ विश्वास व्यक्त गर्दै उहाँले ‘अधिवेशन सफलताको शुभकामना’ समेत दिनुभयो ।

एमाले माडी नगर अध्यक्ष नारायण अधिकारीको अध्यक्षतामा सञ्चालित नगर अधिवेशनको समुद्घाटनमा माडीका सबैजसो गाउँठाउँबाट ठूलो संख्यामा पार्टीपंक्ती एवं समर्थक शुभेच्छुकहरु सहभागी रहेका थिए । अधिवेशनमा खुलातर्फ ३७, महिलाबाट २९, युवाबाट १७, उत्पीडित समुदायबाट १६, जनवर्गिय संगठनहरुबाट २४, मनोनित १० र हालको नगर कमिटिका सबै ७५ जना गरी कूल २०८ जना प्रतिनिधि एवं केहि पर्यवेक्षकहरु सहभागी रहँदैछन् ।

अधिवेशनको समुद्घाटन कार्यक्रमका सन्दर्भमा बसन्तपुर बजारमा -याली प्रदर्शन गरिएको थियो । पञ्चेबाजा र साँस्कृतिक झाँकी सहितको -यालीमा एमाले नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । बसन्तपुर बजारको दिवाकर चोकबाट सुरुवात भएको र -याली अधिवेशन स्थल होटल प्याराडाइजमा प्रवेश गरी समुद्घाटन समारोहमा परिणत भएको थियो ।