

माडी, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को दोश्रो नगर अधिवेशनबाट निर्वाचित पदाधिकारी एवं कार्यसमितिले सपथग्रहण गरेका छन् ।

नगर अध्यक्षमा निर्वाचित भरत तिमिल्सिना सहित बरिष्ठ उपाध्यक्ष निलकण्ठ काफ्ले, उपाध्यक्षद्वय मुक्ति काफ्ले र रामनारायण महतो, सचिव घनश्याम दवाडी, सहसचिवमा रामबाबु बि.क. र कोषाध्यक्ष बुद्धिसरा बि.क. सहित नगद सदस्यहरुले सामुहिक सपथग्रहण गर्नुभएको हो ।

माडी नगर कमाण्ड ईञ्चार्ज ऋषिराम काफ्लेको अध्यक्षतामा सम्पन्न सपथ ग्रहण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा चितवन जिल्ला ईञ्चार्ज घनश्याम दाहाल अविनाशले सबैलाई सपथग्रहण गराउनुभयो ।

यसैबिच, नगर समिति सदस्य चयन हुनुभएका पूर्व नगर अध्यक्ष प्रभु प्रसाद महतो, उपाध्यक्ष सन्तोष पनेरु र कोषाध्यक्ष माधव चापागाईं सपथग्रहणमा सरिक हुनुभएन । महतो र चापागाईं पदाधिकारीमा नपरेसंगै नगर सदस्य पदबाट राजिनामा गर्ने तयारीमा रहनुभएको बुझिएको छ । पनेरु भने स्वास्थ्य अवस्था बिग्रिएको कारण जनाउँदै सपथग्रहणमा सहभागी हुनुभएन, तर अर्को एक कार्यक्रममा सहभागी भई स्वागत मन्तव्य व्यक्त गरेको भने देखिएको थियो ।