चितवन, २५ कार्तिक, २०८३ । यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज भाइटीका पर्व मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । यद्यपि सर्वसाधारणले दिनभर टीका लगाउन सक्ने समितिले जनाएको छ ।
दिदीबहिनी एवं दाजुभाइ नहुनेहरूले बालगोपालेश्वरमा पूजा, दर्शन गरेर टीका लगाउने परम्परा छ । मन्दिर भाइटीकाको दिन भक्तजन आएसम्म खुला गर्ने गरिएको छ । विसं २०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो ।
यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदै छ ।










