नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश सदस्य सुमन बराल र प्रदेश सचिवालय सदस्य अम्बिका लामिछानेले शनिबार राति पद तथा पार्टी जिम्मेवारी त्याग गरी स्वतन्त्र नागरिकका रूपमा अघि बढ्ने घोषणा गर्नुभएको छ ।
बरालले एक वक्तव्य जारी गर्दै पार्टीको बागमती प्रदेश सदस्यसहित सबै जिम्मेवारीबाट राजीनामा दिएको र नयाँ चेतना तथा कम्युनिस्ट आदर्शका आधारमा सामाजिक न्यायको पक्षमा स्वतन्त्र नागरिकको रूपमा अघि बढ्ने बताउनुभएको छ ।


उहाँले पार्टीभित्र फैलिएको व्यक्तिवाद, भ्रष्टाचार र अवसरवादका कारण कम्युनिस्ट संस्कार र संस्कृति कमजोर हुँदै गएको उल्लेख गर्नुभएको छ । “कथित बाम एकताबाट परिवर्तनकारी नेतृत्व सम्भव नदेखिएकाले यस यात्रालाई विश्राम दिने निर्णयमा पुगेको छु,” बरालको भनाइ छ । बराल लामो समयदेखि माओवादी आन्दोलनसँग जोडिँदै पार्टीभित्र विभिन्न तहमा सक्रिय रहँदै आउनुभएको थियो ।

त्यसैगरी, उहाँकी श्रीमती तथा बागमती प्रदेश सचिवालय सदस्य अम्बिका लामिछानेले पनि पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । माडी नगरपालिका–३, बसन्तपुर निवासी लामिछानेले जारी गरेको विज्ञप्तिमा पार्टीभित्र बढ्दो भ्रष्टाचार, व्यक्तिवाद र अवसरवादका प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्यागको घोषणा गर्नुभएको उल्लेख छ ।

“परिवर्तनका नाममा जनताका सपना क्रमशः मेटिँदै गएका छन्, जबकि सत्ता र शक्तिको दुरुपयोगमार्फत केही व्यक्तिहरू विलासी जीवनमा रमाइरहेका छन्,” लामिछानेको कटाक्ष छ । उहाँले पार्टीभित्र विद्यमान गलत यथास्थिति र त्यसको संरक्षण गर्ने प्रवृत्तिलाई अस्वीकार गर्दै स्वतन्त्र नागरिकको हैसियतमा समाज र जनताको पक्षमा नयाँ र सिर्जनशील सामाजिक न्यायको यात्रामा अघि बढ्ने घोषणा गर्नुभएको हो ।

