चितवन खबर पोष्ट

दिवंगत भूपराज पाठकको स्मृतिमा स्मृति ग्रन्थ विमोचित, असल शिक्षक र प्रतिभा पुरस्कार अर्पित

७ फागुन, माडी । दिवंगत भुपराज पाठकको स्मृतिमा संग्रहित लेखरचना र फोटो संग्रह सहितको स्मृति ग्रन्थ विमोचन भएको छ । भुपराज पाठक स्मृति प्रतिष्ठानले प्रकाशन गरेको सो स्मृतिग्रन्थ पाठकको पहिलो स्मृति दिवसको अवसर पारी विमोचन गरिएको हो । प्रतिष्ठानका अध्यक्ष विपिन पाठक र चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संयुक्तरुपमा पुस्तक विमोचन गर्नुभयो ।

त्यस्तै, भुपराज पाठक स्मृति शिक्षक पुरस्कारबाट दिवाकर स्मृति माध्यमिक विद्यालयका सहप्रधानाध्यापक जनकराज भुसाल सम्मानित हुनुभएको छ । माडी नगरपालिका–५, राधापुर निवासी शिक्षक भुसाललाई दिवंगत पाठकको प्रथम स्मृति दिवसको अवसर पारी भुपराज पाठक स्मृति प्रतिष्ठानले सो पुरस्कार प्रदान गरेको हो ।

२०३२ असोज १५ गते माडी–५मा जन्मनुभएका शिक्षक भुसालले २०६६ सालदेखि अनवरत १५ बर्ष दिवाकर स्मृति विद्यालयमा शिक्षण र प्रशासनीक अगुवाई गर्दै आउनुभएको छ । शिक्षक भुसाललाई दिवाकर स्मृति माध्यमिक विद्यालयको आधार स्तम्भका रुपमा हेरिने गरिन्छ ।

त्यसैगरी, दिवंगत पाठकको स्मृतिमा स्थापित भूपराज पाठक स्मृति प्रतिभा पुरस्कारबाट माडीका मुर्तीकार पार्वती सुनार सम्मानित हुनुभएको छ । माडी नगरपालिका–८, खरकट्टा निवासी मुर्तीकार सुनारलाई भूपराज पाठकको प्रथम स्मृति दिवसको अवसरमा भूपराज पाठक स्मृति प्रतिष्ठानले सो पुरस्कार प्रदान गरेको हो।

वि.सं. २०४० माघ महिनामा माडीकै टम्टा बजारमा जन्मनुभएका सुनारले हाल आफ्नै घरमा मुर्ती निर्माण गर्दै आउनुभएको छ। माडी नगरपालिका प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत रहनुभएका उहाँले ढुङ्गा र सिमेन्टको प्रयोगबाट देवी-देउता, जनावर तथा मानिसका मुर्तीहरू निर्माण गर्नुहुन्छ।

माडीको दिवाकर स्मृति माध्यमिक विद्यालयमा स्थायी शिक्षकका रूपमा सेवा गर्नुभएका पाठक दक्षिण एसियामै पहिलोपटक ब्रेल लिपीमा समाचार वाचन गर्ने पत्रकारका रूपमा परिचित एवं हाँस्य कलाकार तथा लोकदोहोरी गायकका रूपमा समेत बहुमुखी प्रतिभायुक्त व्यक्तित्व हुनुहुन्थ्यो । भरतपुरस्थित बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पताल मा उपचारका क्रममा उहाँको २०८१ फागुन ७ गते बिहान ७ः३० बजे निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार