२० चैत, माडी । माडी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन हुने स्वास्थ्य शिविरका लागि नगर कार्यपालिका कार्यालयबाट पूर्व स्वीकृति लिन अनिवार्य गरेको छ ।
व्यापारिक स्वार्थ एवं धार्मिक प्रचारका लागि समेत स्वास्थ्य शिविर सञ्चालन हुनथालेको पृष्ठभूमिमा सो स्थानीय सरकारले बुधबार एक जरुरी सूचना प्रकाशन गर्दै कुनै पनि संघ–संस्थाले शिविर सञ्चालन गर्नुअघि अनुमति लिनुपर्ने स्पष्ट पारेको हो ।
सूचनाअनुसार, शिविर सञ्चालन गर्न इच्छुक संस्थाहरूले सञ्चालन हुने स्थान, सेवा प्रकार तथा आयोजक संस्थाहरुको दर्ता नविकरण कागजात र सेवा दिने स्वास्थ्यकर्मीहरूको योग्यता एवं अनुभवका प्रमाणपत्रहरु सहित कार्यक्रमको विस्तृत विवरणसहित निवेदन पेश गर्नुपर्नेछ ।

सूचनामा स्वास्थ्य शिविर आयोजनाका लागि नगर कार्यपालिकाले मात्रै स्वीकृति दिने प्रावधान रहेको उल्लेख रहेको छ । योसंगै माडीकै वडा कार्यालयहरुलाई समेत स्वास्थ्य सम्बन्धी शिविर सञ्चालनको स्वीकृति दिने (कहिलेकाँही हुनेगरेको अभ्यास रहेको) बाटो बन्द भएको छ ।



