चितवन, ०४ श्रावण २०८३ — अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न फाइनलमा अतिरिक्त समयको एकमात्र गोल निर्णायक बन्दा स्पेनले सन् २०१० पछि पहिलो तथा समग्रमा दोस्रो पटक विश्वकप ट्रफी उचाल्न सफल भयो।
निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। त्यसक्रममा फेरान टोरेसले १०६औँ मिनेटमा गरेको उत्कृष्ट गोल नै स्पेनको जितका लागि पर्याप्त बन्यो।
स्पेनले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणमा पोर्चुगल, बेल्जियम, फ्रान्स र फाइनलमा अर्जेन्टिनालाई पराजित गर्दै विश्व फुटबलको सर्वोच्च उपाधि आफ्नो नाममा लेखायो। फाइनल खेलमा समेत स्पेन अर्जेन्टिनामाथि पुरै हाबी भएको थियो ।

यता साविक विजेता अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप जित्ने सपना अधुरै रह्यो। स्पेनले १६ वर्षपछि पुनः विश्वविजेताको गौरव हासिल गर्दै आफ्नो फुटबल इतिहासमा अर्को स्वर्णिम अध्याय थपेको छ।
प्रतियोगिताको व्यक्तिगत पुरस्कारतर्फ स्पेनका रोड्री सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल जित्न सफल भए। स्पेनकै पाउ कुबार्सी उत्कृष्ट युवा खेलाडी घोषित भए भने फ्रान्सका किलियन एमबाप्पे प्रतियोगिताकै सर्वाधिक (१०) गोलकर्ता बन्दै गोल्डेन बुट जित्न सफल भए ।



