चितवन खबर पोष्ट

चितवनमा वन्यजन्तुको आक्रमण बढ्दो, एक वर्षमै पाँचको मृत्यु; क्षतिबापत रु १.३० करोड राहत वितरण

चितवन, ०४ श्रावण २०८३ — चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा वन्यजन्तुको आक्रमणबाट मानवीय तथा भौतिक क्षति बढ्दो क्रममा देखिएको छ। गत आर्थिक वर्षमा मात्रै पाँच जनाले ज्यान गुमाएका छन् भने दर्जनौँ व्यक्ति घाइते भएका छन्।

वन्यजन्तुले पुर्‍याएको मानवीय, पशुधन, अन्नबाली तथा घरगोठको क्षतिबापत निकुञ्जले रु १ करोड २९ लाख ९८ हजार ३०७ राहत वितरण गरेको छ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार वन्यजन्तुका आक्रमणबाट सामान्य घाइते भएका व्यक्तिको उपचारका लागि रु १ लाख ३४ हजार १७६, गम्भीर घाइतेको उपचारका लागि रु २९ लाख ४२ हजार ४८१ तथा पाँच जनाको मृत्यु भएपछि उनीहरूका परिवारलाई रु ५० लाख राहत उपलब्ध गराइएको छ।

त्यसैगरी, पशुधनमा भएको क्षतिबापत रु २३ लाख ६० हजार २००, भण्डारण गरिएको अन्नमा भएको क्षतिबापत रु ७० हजार, घरगोठमा भएको क्षतिबापत रु ३ लाख ३९ हजार ६५०, अन्नबालीमा भएको क्षतिबापत रु २१ लाख ८ हजार ३०० तथा कुखुरा क्षतिबापत रु ४३ हजार ५०० राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया