चितवन, ०४ श्रावण २०८३ — माडी नगरपालिका वडा नं. १, चैनपुर निवासी एक बालिकाले मनमोहन बालग्राम लक्ष्मीनिवासमा रहेका आफ्नै उमेर समूहका बालबालिकाहरुलाई स्टेशनरी सामग्री वितरण र विहानी भोजन गराउँदै जन्मदिन मनाएकी छिन् ।
चैनपुर गाउँ निवासी बालिका क्रिश्टिना महतोले सोमबार बिहान बालग्रामका बालबालिकाहरुका लागि ६० थान कापी, १२ प्याक पेन्सिल, १० प्याक पेन्सिल प्रदान गर्दै बिहानी भोजन गराएकी हुन् ।
आफूभन्दा कम भाग्यमानी रहेका साथीहरुसंग जन्मदिन मनाउन पाउँदा धेरै नै खुसी लागेको बताउँदै महतोले अन्य बालबालिका र साथीहरुलाई पनि बालग्रामका साथीहरुलाई सहयोग गर्दै उनीहरुसंग जन्मदिन मनाउन अनुरोध गरिन् ।

करीब ६ बर्षअघि कुसुमखोलामा रहेका सुकुम्बासी चेपाङ बस्तीमा आगजनी हुँदा घरविहीन हुनपुगेका बालबालिकाहरूको शिक्षाको निरन्तरताका लागि माडी नगरपालिकाले समायोजनपछि खाली भएको लक्ष्मीनिवासस्थित विद्यालय भवनमा राखेको थियो ।
त्यस कार्यका निम्ति नगरपालिकाको अनुरोध र सहयोगमा हेल्पिङ सोसाइटी नेपाल संस्थाले सो बालग्राम व्यवस्थापन गरेको थियो । सुरुवातदेखि नै आर्थिक अभावमा परेको सो बालग्रामलाई जन्मदिन वा अन्य सन्दर्भमा माडीबासी नागरिकहरुले सहयोग गरिआएका छन् ।
— — —



